कीवर्डहरू -

एनटिसी सेवामा सुधार : डेटा सकिएपछि स्वतः शुल्क काटिने व्यवस्था हट्ने, ‘वान टाइम केवाईसी’ लागू हुँदै

एनटिसी सेवामा सुधार : डेटा सकिएपछि स्वतः शुल्क काटिने व्यवस्था हट्ने, ‘वान टाइम केवाईसी’ लागू हुँदै

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकमका सेवामा सुधारका विभिन्न काम अघि बढाइएको छ। प्रयोगकर्ताको डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था अब अन्त्य हुने भएको छ। साथै, टेलिकमका सेवा क्रमशः अनलाइन माध्यममा रूपान्तरण गर्ने र ‘वान टाइम केवाईसी’ लागू गर्ने प्रक्रिया पनि सुरु भएको छ।

मन्त्रालयका अनुसार अब ग्राहकले लिएको डेटा प्याकेज ९० प्रतिशत प्रयोग भइसकेपछि सूचना प्राप्त गर्नेछन्। त्यसपछि डेटा सकिएपछि पनि सेवा निरन्तर राख्ने वा नयाँ प्याकेज खरिद गर्ने भन्ने विकल्प प्रयोगकर्ताले पाउनेछन्। यो प्रणालीमा पे–एज–यू–गो (PAYG) सुविधा समेत समावेश गरिनेछ, जसले अनावश्यक शुल्क कटौती रोक्नेछ।

प्राधिकरणका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार हाल यो व्यवस्था परीक्षण चरणमा छ र निकट भविष्यमै पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ। युएसएसडीमार्फत खरिद हुने डेटा प्याकमा केही दिनभित्रै यो सुविधा उपलब्ध हुने र मोबाइल एप प्रयोग गर्ने ग्राहकले पनि चाँडै प्रयोग गर्न पाउने बताइएको छ।

यसैगरी, मन्त्रालयले अघि सारेको नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतका सुधार योजनामा नेपाल टेलिकमको सेवा गुणस्तर, ग्राहक सेवा र डिजिटल पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको छ। त्यसअनुसार ‘वान टाइम केवाईसी’ प्रणाली लागू गरिनेछ, जसले ग्राहकलाई एकपटक विवरण बुझाइसकेपछि फेरि पटक–पटक कागजात पेश गर्नुपर्ने झन्झटबाट मुक्त गर्नेछ।

यस्तै, इ–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति र स्वामित्व हस्तान्तरणजस्ता सेवा पनि पूर्ण रूपमा अनलाइन बनाउने तयारी भइरहेको छ। ग्राहकलाई एउटै स्थानबाट सबै सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमका कार्यालयहरूमा ‘एकल बिन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने योजना पनि अघि सारिएको छ।

फोरजी सेवाको गुणस्तर सुधारका लागि नीतिगत परिमार्जनसमेत गरिने बताइएको छ। आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढाइने र ३० दिनभित्र नीति संशोधन गर्ने लक्ष्य राखिएको छ। यसले इन्टरनेटको गति, पहुँच र स्थायित्वमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने अभ्यास हटाइनु उपभोक्ता हितको दृष्टिले महत्वपूर्ण परिवर्तन मानिएको छ। यसले ग्राहकलाई बढी पारदर्शिता, विकल्प र खर्चमाथि नियन्त्रण दिने विश्वास गरिएको छ।