नेपाल टेलिकम (एनटिसी) ले आफ्ना प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई ३० दिन बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
एनटिसीका अनुसार ‘कम्बो–२९९’ प्याकेजको अवधि मंगलबार रातिदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनासँग भएको छलफलपछि उक्त निर्णय तत्काल लागू गरिएको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले हाल एउटा २८ दिने प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिसकिएको र आगामी वैशाख ११ गतेसम्म बाँकी सबै २८ दिने प्याकेजलाई पनि ३० दिनमा रूपान्तरण गरिसक्ने जानकारी दिनुभयो।
यस व्यवस्थाबाट एनटिसीका ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। अब महिनामा एकपटक रिचार्ज गर्दा पुग्ने भएकाले प्रयोग अझ सहज हुने विश्वास गरिएको छ। साथै, उही मूल्यमा दुई दिन बढी सेवा प्राप्त हुने भएकाले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा थप सुविधा मिल्नेछ।
यो सुधारलाई उपभोक्तामैत्री कदमका रूपमा लिइएको छ। यसले ग्राहक सन्तुष्टि बढाउने मात्र होइन, टेलिकम सेवामा प्रतिस्पर्धात्मक वातावरणलाई समेत थप गतिशील बनाउने अपेक्षा गरिएको छ।
आईसीटी समाचार