कीवर्डहरू -

अमेरिकामै एआई चीप र सुपरकम्प्युटर बनाउने एनभिडियाको घोषणा

अमेरिकामै एआई चीप र सुपरकम्प्युटर बनाउने एनभिडियाको घोषणा

एनभिडियाले हालैको ट्यारिफको झमेलाबाट सिक्दै, अब आफ्ना एआई चिपहरू र सुपरकम्प्युटरहरू अमेरिका मै उत्पादन गर्ने घोषणा गरेको छ । कम्पनीले नयाँ ‘ब्ल्याकवेल’ चिपहरू एरिजोनामा निर्माण र परीक्षण गर्दैछ । 

यसले गर्दा हालै घोषणा गरिएका DGX Spark र DGX Station जस्ता एआई सुपरकम्प्युटरहरू टेक्ससमा निर्माण गर्ने योजना बनाएको छ ।
एनभिडियाका अनुसार, टीएसएमसीले पहिले नै एरिजोनाको फोनिक्समा ब्ल्याकवेल चिपहरू बनाइरहेको छ । कम्पनीले परीक्षण र प्याकेजिङको लागि एमकोर र एसपीआईएलसँग साझेदारी गरेको छ । 

टेक्ससमा भने सुपरकम्प्युटरहरू ह्युस्टनमा फक्सकन र ड्यालसमा विस्ट्रोनद्वारा निर्माण गरिने छ । दुवै स्थानमा आगामी १२–१५ महिनाभित्र ठूलो परिमाणमा उत्पादन सुरु हुने एनभिडियाले जनाएको छ ।

यद्यपि टीएसएमसीले वास्तवमा ब्ल्याकवेल चिपको कुन संस्करण निर्माण गर्ने भन्ने स्पष्ट छैन । कम्पनीले एप्पल र क्वालकम जस्ता अमेरिकी प्रविधि कम्पनीहरूको विविध आवश्यकतालाई ध्यानमा राखेर उत्पादन गर्ने तयारी गरिरहेको छ । मार्च महिनामा, टीएसएमसीले अमेरिकी चोप्स ऐन अन्तर्गत ६.६ अर्ब डलर सहयोग पाएको छ र यसले अमेरिकामा आफ्ना गतिविधिहरू विस्तार गर्न थप १०० अर्ब डलर खर्च गर्ने वाचा गरेको छ ।

एनभिडिया हालको एआई बूमबाट सबैभन्दा धेरै लाभ उठाउने कम्पनी हो । यो राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ ट्यारिफहरूबाट धेरै प्रभावित हुन सक्ने थियो । 

अप्रिल ११ बाट केही ट्यारिफहरू कम्प्युटर र चिपहरूमा ‘पज’ गरिएको छ, जसले एनभिडिया जस्ता कम्पनीलाई केही आर्थिक झट्काबाट बचाएको छ । तर उत्पादन अमेरिका स्थानान्तरण गर्नु भनेको लामो समयसम्म व्यापार युद्धबाट जोगिने अधिक स्थायी उपाय हो ।