कीवर्डहरू -

अमेरिकी रक्षा विभागसँग ओपन एआईको सहकार्य, एआई प्रयोगमा ‘नो मास सर्भिलेन्स’ सर्त समावेश

अमेरिकी रक्षा विभागसँग ओपन एआईको सहकार्य, एआई प्रयोगमा ‘नो मास सर्भिलेन्स’ सर्त समावेश

ओपन एआईले अमेरिकी रक्षा निकाय युद्द विभागसँग आफ्ना एआई मोडेलहरू एजेन्सीको वर्गीकृत सञ्जालमा सञ्चालन गर्ने सम्झौता गरेको छ। कम्पनीका प्रमुख स्याम अल्टम्यानले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्।

अल्टम्यानका अनुसार सम्झौतामा ओपनएआईका दुई महत्वपूर्ण सुरक्षा सिद्धान्त समावेश गरिएको छ । यसमा घरेलुस्तरमा सामूहिक निगरानीमा प्रतिबन्ध र स्वायत्त हतियार प्रणालीसहित बल प्रयोगमा मानव जिम्मेवारी अनिवार्य हुने प्रावधान छन्। उनले रक्षा निकायले यी सर्तहरू स्वीकार गरेको दाबी गरेका छन्।

यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी निकायहरूलाई एन्थ्रोपिकको क्लाउड लगायतका सेवा प्रयोग नगर्न निर्देशन दिएपछि भएको हो। यसअघि अमेरिकी रक्षा सचिव पिट हेग्सेथले एन्थ्रोपिकले आफ्ना एआई ‘गार्डरेल’ हटाउन अस्वीकार गरे ‘supply chain risk’ घोषणा गर्ने चेतावनी दिएका थिए।

एन्थ्रोपिकले भने सामूहिक घरेलु निगरानी वा पूर्ण स्वायत्त हतियार प्रणालीमा एआई प्रयोग नगर्ने आफ्नो अडान दोहोर्‍याउँदै आएको छ। कम्पनीले डर वा दबाबका कारण आफ्नो नीति परिवर्तन नगर्ने र आवश्यक परे कानुनी चुनौती दिने जनाएको छ।

रक्षा निकायका वरिष्ठ अधिकारी जेरेमी लेविनले विभागका सम्झौतामा कानुनी अधिकार सन्दर्भ र आपसी सहमतिका सुरक्षा संयन्त्र समावेश गरिएको बताएका छन्। 
उनका अनुसार एक्सएआईले पनि आफ्नो ग्रोक मोडेल रक्षा निकायको वर्गीकृत प्रणालीमा सञ्चालन गर्ने क्रममा यस्तै सर्त स्वीकार गरेको छ।

अल्टम्यानले ओपनएआईले आफ्ना मोडेलहरू सुरक्षित रूपमा सञ्चालन गर्न थप प्राविधिक सुरक्षात्मक संयन्त्र (technical safeguards) विकास गर्ने र इन्जिनियरहरूको टोली रक्षा निकायसँग सहकार्यका लागि पठाउने जानकारी दिएका छन्। मोडेलहरू केवल क्लाउड सञ्जालमार्फत सञ्चालन गरिने पनि उल्लेख गरिएको छ।

यसैबीच, ओपनएआईले हालै अमेजन वेब सिर्भिसेस (AWS) सँग साझेदारी गरी आफ्ना मोडेलहरू उद्यम ग्राहकका लागि क्लाउडमा सञ्चालन गर्ने घोषणा गरेको छ। यद्यपि, हालसम्म ओपनएआई पूर्ण रूपमा अमेजन क्लाउडमा सरिएको छैन।

ओपनएआई र अमेरिकी रक्षा निकायबीचको यो सम्झौताले एआई प्रविधिको सुरक्षा, निगरानी र सैन्य प्रयोगसम्बन्धी बहसलाई थप चर्काउने अपेक्षा गरिएको छ।
 

Tonight, we reached an agreement with the Department of War to deploy our models in their classified network.

In all of our interactions, the DoW displayed a deep respect for safety and a desire to partner to achieve the best possible outcome.

AI safety and wide distribution of…

— Sam Altman (@sama) February 28, 2026