ओपनएआई, जसले च्याटजीपीटी बनाएको हो, अब एउटा नयाँ र ठूलो कदम चाल्न तयारीमा रहेको छ । द भर्जको रिपोर्टअनुसार, ओपनएआईले आफैंले नयाँ सोशल मिडिया वेबसाइट वा एप ल्याउने योजना बनाइरहेको छ, जुन एक्स— (अघिल्लो ट्विटर) जस्तै हुने बताइएको छ ।
यस प्लेटफर्मको मुख्य फोकस च्याटजीपीटीको इमेज जेनेरेशन फिचरमा हुनेछ र यसमा एउटा सोशल फिड पनि हुनेछ, जहाँ प्रयोगकर्ताहरूले कन्टेन्ट हेर्न र शेयर गर्न सक्नेछन् ।
रिपोर्टअनुसार, ओपनएआईका सीईओ सैम अल्टम्यानले यो प्रोजेक्टबारे केही छानिएका व्यक्तिहरूसँग व्यक्तिगत रूपमा फिडब्याक लिइरहेका छन् । यो हाल प्रारम्भिक चरणमा रहेको र यो प्लेटफर्म च्याटजीपीटीमा नै समावेश गरिने हो वा अलग एपको रूपमा ल्याइने हो भन्ने अझै स्पष्ट छैन् ।
यो खबर सार्वजनिक भएपछि अब यस्तो अनुमान गरिएको छ कि ओपनएआई र एलन मस्कबीचको तनाव अझै गहिरिन सक्छ । एलन मस्क, जो ओपनएआईका सह–संस्थापक थिए, अहिले एक्स — (ट्विटर) का मालिक छन् र उनी सन् २०१८ मा ओपनएआईबाट अलग भएका थिए ।
पछिल्लो समयदेखि उनीहरूबीच विवाद चलिरहेको छ । यस वर्ष फेब्रुअरीमा एलन मस्कले केही लगानीकर्तासँग मिलेर ओपनएआई खरिद गर्ने प्रस्ताव राखेका थिए, करिब ४९७.४ अर्ब डलरमा — तर सैम अल्टम्यानले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेका थिए ।
त्यसअघि मस्कले ओपनएआई र सैम अल्टम्यानविरुद्ध मुद्दा दायर गरेका थिए, जसमा उनले आरोप लगाएका थिए कि कम्पनी अब मानवताको हितको लागि एआई बनाइरहेको छैन, बरु पैसा कमाउने लक्ष्यमा मात्र केन्द्रित भइरहेको छ ।
भर्खरै, ओपनएआईले पनि मस्कमाथि कडा जवाफ दिएको छ, उनीमाथि मानसिक दुव्र्यवहार र कम्पनीको फर–प्रोफिट मोडललाई क्षति पु¥याउन खोजेको आरोप लगाएको छ । अब यो विवाद अदालतसम्म पुगिसकेको छ, र अर्को वर्ष यसको लागि जुरी ट्रायल सुरु हुन सक्छ ।
यदि ओपनएआईले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म सार्वजनिक ग¥यो भने, त्यो मेटा – फेसबुक र इन्स्टाग्रामको मालिक कम्पनीसँग डाइरेक्ट कम्पिटिशन हुने सम्भावना छ । मेटा पनि हाल आफ्नै एआई सेवा विकास गरिरहेको छ, जुन सामाजिक सञ्जालसँग सम्बन्धित हुनेछ ।
सैम अल्टम्यानले फेब्रुअरीमा एक्समा मेटाका योजनालाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए —
“ठीक छ, सायद हामी पनि एउटा सामाजिक एप बनाइहालौं ।"
मेटा र एक्स दुबैले प्रयोगकर्ताहरूको विशाल डेटा राखेका छन्, जसबाट उनीहरूले आफ्ना एआई मोडेल ट्रेन गर्छन् ।
यदि ओपनएआई पनि यस प्रतिस्पर्धामा उत्रियो भने, एआई र सामाजिक सञ्जालको दुनियाँमा एक ठूलो भिडन्त देख्न पाइनेछ ।