कीवर्डहरू -

ओपनएआईले सार्वजनिक गर्‍यो नयाँ जीपीटी ५ कोडेक्स

ओपनएआईले सार्वजनिक गर्‍यो नयाँ जीपीटी ५ कोडेक्स

ओपनएआईले सोमबार आफ्ना एआई कोडिङ एजेन्ट कोडेक्सका लागि नयाँ संस्करण जीपीटी ५ कोडेक्स सार्वजनिक गरेको छ। यो मोडेलले अघिल्ला संस्करणहरूभन्दा धेरै गतिशील ढंगले ‘सोच्ने समय’ खर्च गर्न सक्ने दावी गरिएको छ । 

जसले गर्दा कोडिङ कार्यमा केही सेकेन्डदेखि सात घण्टासम्म समय दिन सक्छ। यसका कारण, यसले एजेन्टिक कोडिङ बेञ्चमार्कमा उत्कृष्ट प्रदर्शन गरेको छ।

नयाँ मोडेल अहिले कोडेक्स उत्पादनहरूमा रोलआउट भइरहेको छ, जसलाई टर्मिनल, आईडीई, गिटअप वा च्याटजीपीटीमार्फत प्रयोग गर्न सकिन्छ। 

यो सुविधा च्याटजीपीटी प्लस, प्रो, बिजनेस, एडु र इन्टरप्राइज प्रयोगकर्ताहरूलाई उपलब्ध भएको छ। एपीआई ग्राहकहरूका लागि भने पछि उपलब्ध गराइने योजना ओपनएआईले जनाएको छ।

यो अपडेट ओपनएआईको कोडेक्सलाई अन्य प्रतिस्पर्धी एआई कोडिङ उत्पादनहरू—जस्तै क्लाउड कोड, एनीस्फेयरको करसर वा माइक्रोसफ्टको गिटहब कोपाइलटसँग प्रतिस्पर्धी बनाउनको लागि आएको हो।

पछिल्लो वर्ष प्रयोगकर्ताको तीव्र मागका कारण एआई कोडिङ उपकरणको बजार निकै प्रतिस्पर्धात्मक बनेको छ। उदाहरणका लागि, करसरले सन् २०२५ मा मात्र ५० करोड डलरभन्दा बढी वार्षिक आम्दानी (ARR) पार गरेको थियो भने विन्डसर्फ नामक अर्को कोड एडिटरलाई लिएर भएको अधिग्रहण प्रयासले टिमलाई गूगल र कग्निसनबीच विभाजन गरेको थियो।

ओपनएआईका अनुसार, जीपीटी ५ कोडेक्सले जीपीटी ५ भन्दा SWE-bench Verified (एजेन्टिक कोडिङ क्षमतामापन गर्ने बेञ्चमार्क) मा उत्कृष्ट प्रदर्शन गरेको छ। साथै, ठूलो र स्थापित रिपोजिटरीहरूको कोड रिफ्याक्टरिङ कार्यमा समेत यसले राम्रो नतिजा देखाएको छ।

कम्पनीले यस मोडेललाई कोड रिभ्युका लागि विशेष रूपमा तालिम दिएको छ। अनुभवसंपन्न सफ्टवेयर इन्जिनियरहरूले मूल्यांकन गर्दा यसले अघिल्ला मोडेलभन्दा कम गलत टिप्पणीहरू दिएको र बढी ‘उच्च प्रभाव पार्ने टिप्पणीहरू’ गरेको पाइएको छ।

ब्रिफिङमा, ओपनएआईका कोडेक्सका उत्पादन प्रमुख एलेक्ज्यान्डर एम्बिरिकोसले जीपीटी फाइभ कोडेक्सको उच्च प्रदर्शन यसको गतिशील सोच्ने क्षमताका कारण भएको बताए। 

प्रयोगकर्ताहरू च्याटजीपीटीमा जीपीटी ५ राउटरसँग परिचित छन्, जसले कार्यको जटिलता अनुसार विभिन्न मोडेल रोज्छ। तर, जीपीटी ५ कोडेक्समा भने त्यस्तो राउटर छैन। यसले वास्तविक समयमा कार्यको कठिनाइ अनुसार समय मिलाउन सक्छ।

एम्बिरिकोसका अनुसार, यही विशेषता यसलाई फाइदा पुर्‍याउँछ। राउटरले कार्य सुरु गर्दा नै कति समय र कम्प्युटेशनल पावर प्रयोग गर्ने भन्ने निर्णय गर्छ। 

तर जीपीटी ५ कोडेक्सले भने बीचैमा—जस्तै पाँच मिनेटपछि—अझ एक घण्टा बढी खर्च गर्नुपर्ने निर्णय लिन सक्छ। उनले भनेका छन्, ‘मैले यसलाई सात घण्टासम्म समय लिएको देखेको छु।’