ओपनएआईले एउटा चकित पार्ने खुलासा गर्दै भनेको छ कि चीन सरकारसँग सम्बद्ध समूहहरूले च्याटजीपीटीजस्ता एआई उपकरणहरूको दुरुपयोग गरी विश्वभरि गलत सूचना फैलाउन र लुकेर अभियानहरू चलाउन थालेका छन् । एक रिपोर्टमा कम्पनीले उल्लेख गरेको छ कि विगत तीन महिनामा यसरी चलाइएका थुप्रै अभियानहरूलाई अवरुद्ध गरिएको छ र सङ्लग्न अनेक फेक अकाउन्टहरूलाई ब्यान गरिएको छ ।
ओपनएआईकी इन्टेलिजेन्स टोलीका प्रमुख अन्वेषक बेन निमोले भने, “हामी चीनबाट आउने गोप्य अभियानहरूमा निरन्तर विविधता र नयाँ रणनीतिहरू देख्दै आएका छौं ।” रिपोर्टअनुसार चारवटा बेग्लाबेग्लै अभियानहरू पहिचान भएका छन्, जुन सम्भवतः चीन समर्थित थिए र हरेकको उद्देश्य फरक–फरक थिए, तर सबैले च्याटजीपीटीलाई कम्पनीको नीतिविरुद्ध प्रयोग गरेका थिए ।
‘स्नीर रिभ्यू’ नामक अभियानले च्याटजीपीटीप्रयोग गरेर टिकटक, एक्स (पहिले ट्विटर), रेडइट र फेसबुक जस्ता प्लेटफर्महरूमा फेक टिप्पणी र बहसहरू सिर्जना ग¥यो । यसको उद्देश्य जेनेटिक रूपमै “जैविक” छलफल चलिरहेझैं देखाउने थियो: जस्तै कुनै ताइवानस्थित भिडियो गेमको आलोचना गर्नु वा अमेरिकी यूएसएआईडी निकाय बन्द हुनेबारे मिश्रित विचार व्यक्त गर्नु । यी अभियानले मुख्य पोष्टभन्दा अलग प्रतिक्रिया पनि आफैँ निर्माण गर्थे, जसले गर्दा वास्तविक व्यक्तिहरूलेनै छलफल गरिरहेका हुन् भन्ने भ्रम सिर्जना हुन्थ्यो ।
रिपोर्टले खुलासा गरेको अर्को चकित पार्ने कुरा त यो हो कि यी अभियानका आन्तरिक रिपोर्ट र प्रदर्शन समीक्षा समेत च्याटजीपीटीमार्फत तयार गरिएका थिए,अर्थात् अभियान कसरी सञ्चालन गरियो भन्ने दस्तावेजीकरण पनि एआईबाटै गराइएको थियो । ओपनएआईले भनेको छ कि यी अभियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार शुल्क नीतिहरूको आलोचना गर्नेसमेत अमेरिकी राजनीतिक विषयवस्तुका टिप्पणीहरू एआईबाट तयार गरेका थिए ।
एआईको प्रयोग केवल सामाजिक सञ्जालमा सीमित थिएन । रिपोर्टअनुसार, च्याटजीपीटीलाई स्क्रिप्ट परिवर्तन, सिस्टम कन्फिगर गर्न र ब्रुट–फोर्सिङ टुल बनाउन जस्ता साइबर अभियानहरूमा समेत प्रयोग गरिएको थियो । साथै, फेक पत्रकार वा विश्लेषकको रूपमा परिचय लिई वास्तविक प्रयोगकर्ताहरूबाट जानकारी संकलन गर्ने प्रयासहरू पनि गरिएको थियो ।
एक घटनामा अमेरिकी सिनेटरको संवादमा एआई–उत्पन्न सामग्रीको प्रयोग भएको पाइएको थियो, यद्यपि ओपनएआईले पुष्टि गर्न सकेन कि ती सन्देशहरू वास्तवमै पठाइएका थिए कि थिएनन् । ओपनएआईले स्पष्ट पारेको छ कि यस्ता अभियानहरूमाथि कडा कारवाही गरिरहेको छ र आफ्ना उपकरणहरूको दुरुपयोग रोक्न सतर्क निगरानी र सुरक्षा उपायहरू निरन्तर सुदृढ पारिरहेको छ ।