नेपाली सीप, क्षमता र प्रविधिलाई विश्व बजारमा जोड्ने प्लेटफर्म ‘आउटसोर्सिङ डट टेक’ सार्वजनिक भएको छ । नेपालको अग्रणी प्रविधि कम्पनी क्लब बी टेकले आउटसोर्सिङ डट टेक प्लेटफर्म विकास गरेको हो ।
आउटसोर्सिङ डट टेक बीटुबी (बिजनेस टु बिजनेस) मार्केटप्लेस हो । आउटसोर्सिङ डट टेकमार्फत नेपाली प्रविधि व्यवसायहरूले आफ्नो सेवा, सफ्टवेयर र दक्ष जनशक्तिलाई ग्लोबलस्तरमा बिक्री गर्न सक्नेछन् ।
आउटसोर्सिङ डट टेक नेपाली उत्पादन र ट्यालेन्टलाई विश्वव्यापी पहुँच दिने संस्थापक युवराज आचार्यले जानकारी दिए । ‘नेपालमा धेरै सफ्टवेयर कम्पनीहरू छन्, जसले उत्कृष्ट उत्पादन बनाएका छन् । तर ती उत्पादनहरूलाई विश्व बजारमा पुर्याउने यथोचित माध्यम र पहुँचको अभाव छ,’ उनले आइसिटी समाचारसँग भने, ‘अब त्यो समस्यालाई पनि आउटसोर्सिङ डट टेक हल गर्नेछ भने फ्रिल्यान्सरलाई पनि नयाँ प्लेटफर्म भएको छ ।’
आउटसोर्सिङ डट टेकबाट मुख्यगरी सफ्टवेयर, आईटी सेवा बिक्री तथा टेक ट्यालेन्ट हायर गर्न सकिने छ । सफ्टवेयर मार्केटप्लेस अन्तर्गत पीओएस, एचआरएम, राइड शेयरिङ, सीआरएम र ई-लर्निङ जस्ता सिस्टम खरिद बिक्री गर्न सकिने छ ।
टेक सेवा अन्तर्गत प्रविधि सेवाका लागि विदेशी कम्पनीहरूले राखेको प्रस्ताव (Request for Proposal) आधारमा र नेपाली कम्पनीहरूले प्रत्यक्ष प्रस्ताव पठाएर प्रतिस्पर्धा गर्न सक्नेछन् ।
त्यसैगरी ट्यालेन्ट सेवा अन्तर्गत जुनसुकै देशका कम्पनीहरूले नेपालबाट एआई डेभलपर, ब्लकचेन एक्सपर्ट, क्युए इन्जिनियर, फ्लटर डेभलपर जस्ता प्राविधिक जनशक्ति हायर गर्न सक्ने छन् ।
अहिले आउटसोर्सिङ डट टेकमा ५० बढी भेन्डर सूचीकृत छन् । ४० भन्दा बढी सफ्टवेयर उत्पादनहरू मार्केटप्लेसमा राखिएको छ । यस्तै एआई, ब्लकचेन, वेब ३.०, मोबाइल एप विकास सेवा सूचीकृत भएका छन् ।
आफ्नो सेवालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने योजना अनुसार आउटसोर्सिङ डट टेकले ‘एजेन्सी पार्टनर प्रोग्राम’ समेत सुरू गरेको छ । एजेन्सी पार्टनर भनेको आउटसोर्सिङ डट टेकलाई आफ्नो देश/क्षेत्रबाट ग्राहकहरू ल्याउन सहयोग गर्ने प्रतिनिधि हो । उनीहरूले आफ्नो देशका कम्पनीहरूसँग प्रस्ताव समन्वय गर्नेछन् ।
हालसम्म अमेरिका, क्यानडा, जर्मनी, बेलायत, युएई, जापान, अष्ट्रेलिया लगायत १० भन्दा बढी देशमा एजेन्टहरू भइसकेका छन् । यदि तपाईं पनि अन्तर्राष्ट्रिय नेटवर्क भएको व्यक्ति वा संस्था हुनुहुन्छ भने एजेन्सी पार्टनर बन्न सक्नुहुन्छ ।
यदि तपाई आईटी कम्पनी, सफ्टवेयर प्रदायक, सेवा विक्रेता, वा योग्य ट्यालेन्ट हुनुहुन्छ भने आफ्नो कम्पनी र सेवा प्लेटफर्ममा सूचीकृत गर्न सक्नु हुनेछ । यसका लागि कुनै शुल्क लाग्दैन ।
यदि तपाई व्यवसायमा हुनुहुन्छ र सफ्टवेयर वा सेवा खोज्दै हुनुहुन्छ भने आउटसोर्सिङ डट टेकमा गएर प्रस्ताव राख्न सक्नुहुनेछ । यस प्लेटफर्मबाटै भुक्तानी, कार्य सम्पादन ट्र्याकिङ, र परिणाम मूल्याङ्कनको सबै जानकारी पाइने छ ।