कीवर्डहरू -

प्रधानमन्त्री ओलीद्वारा कोशी लगानी सम्मेलन २०८२ उद्घाटन, “नेपालमा ढुक्क भएर लगानी गर्न सकिन्छ”

प्रधानमन्त्री ओलीद्वारा कोशी लगानी सम्मेलन २०८२ उद्घाटन, “नेपालमा ढुक्क भएर लगानी गर्न सकिन्छ”

कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको पहिलो कोशी प्रदेश लगानी सम्मेलन २०८२ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विराटनगरस्थित विरेन्द्र सभागृहमा गरेका छन् । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि अत्यन्त अनुकूल र सुरक्षित वातावरण रहेको दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपालमा यातायात, ऊर्जा, सुरक्षा र प्रशासनिक पक्षमा ठोस सुधार भइसकेको उल्लेख गर्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। "नेपालमा श्रमिक, रोजगारदाता र सरकारबीच सहमति र समझदारी छ। आईएलओको सिद्धान्त अनुसार श्रम अधिकारहरू सुनिश्चित छन्," प्रधानमन्त्रीले भने, “अब छिट्टै हामी नदीमार्गबाट पनि सामानको आवागमन सुरु गर्छौं, जसले कोशी प्रदेशलाई अन्तर्राष्ट्रिय व्यापारको प्रवेशद्वार बनाउनेछ।”

प्रधानमन्त्रीले कोशी प्रदेशलाई ‘लगानीको नयाँ सम्भावना बोकेको क्षेत्र’ भन्दै यस क्षेत्रमा पूर्वाधार, कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि र जडीबुटी प्रशोधनमा लगानीको अपार अवसर रहेको बताए। उनले कोशी प्रदेशमा एशियालीस्तरको पूर्व–पश्चिम ६ लेन राजमार्ग निर्माणाधीन अवस्थामा रहेको र विमानस्थलको स्तरोन्नति भइरहेको पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले उद्योगी तथा व्यवसायीहरूलाई कानुन बमोजिम कमाएको मुनाफा स्वदेश वा विदेशमा लैजान सकिने व्यवस्था रहेको भन्दै ढुक्क भएर लगानी गर्न आह्वान गरे। उनले डबल ट्याक्सेसन (दुईपटक कर) को समस्या समाधान भइसकेको र यस विषयमा सरकार आवश्यक सम्झौता गर्न तयार रहेको बताए।

सम्मेलनलाई रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनको माध्यमका रूपमा हेर्दै प्रधानमन्त्रीले आगामी वर्षलाई ‘उद्यमशीलता दशक’ घोषणा गर्न सकिने संकेतसमेत गरेका छन्। “सरकारी जागिर सबैका लागि सम्भव छैन। त्यसैले सोच, तालिम र सहयोगमार्फत हामी युवा उद्यमशीलतालाई बढावा दिन्छौं,” उनले बताए।

सम्मेलनमा चीन, रुस, अमेरिका, भारत, दक्षिण कोरिया लगायतका देशका लगानीकर्ता, गैरआवासीय नेपाली र स्वदेशका प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सहभागिता रहेको छ।

कोशी प्रदेश लगानी सम्मेलनमा कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, उद्योग, आइटीलगायतका क्षेत्रका ७१ वटा परियोजनाहरू सोकेसिङ गरिएको छ। तीमध्ये दुई दर्जनभन्दा बढी परियोजनामा प्रारम्भिक सम्झौता (एमओयू) हुने कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वागत गर्दै प्रदेश सरकारले लगानीका लागि आवश्यक कानुनी सुधार गरिसकेको र प्रदेश सरकार लगानीकर्ताको वारेस बन्ने प्रतिबद्धता जनाएको बताए।

कोशी प्रदेशको समृद्धिको आधारका रूपमा जलस्रोत, कृषि, पर्यटन र पूर्वाधार विकासलाई चिनाउँदै आयोजना गरिएको यो सम्मेलन प्रदेशमै पहिलो पटक भएको ऐतिहासिक पहल हो।