देशकै अग्रणी एडटेक कम्पनी प्रोग्रामिजले युनाइटेड एकेडेमी ग्रुपसँग साझेदारी गर्दै कक्षा ५ देखि नै विद्यार्थीहरूलाई कोडिङ र कम्प्युटर विज्ञान शिक्षा प्रदान गर्ने कार्यक्रम सुरू गरेको छ ।
यस सहकार्य अन्तर्गत, युनाइटेड एकेडेमी ग्रुपका विद्यार्थीहरूले प्रोग्रामिजको इन्टरेक्टिभ कोडिङ प्लेटफर्मको प्रिमियम भर्सन ‘प्रोग्रामिज प्रो’मा पहुँच पाउनेछन्।
यो पहलले हालको शिक्षण प्रणालीमा देखा परिरहेको परिवर्तनलाई झल्काउँछ — जहाँ कोडिङलाई अब अतिरिक्त क्रियाकलाप वा विशेष सीपको रूपमा होइन, आगामी दशकका लागि आवश्यक मूल दक्षताको रूपमा हेरिन थालेको छ ।
‘यो साझेदारी केवल बालबालिकालाई कोडिङ सिकाउने कुरा होइन, उनीहरूलाई प्रविधिका सक्रिय निर्माणकर्ता बन्न प्रोत्साहित गर्ने प्रयास हो,’ प्रोग्रामिजका सह–संस्थापक पुनित जाजोदियाले भने, ‘धेरै राम्रो स्रोत भएका विद्यालयहरूमा पनि विद्यार्थीहरूका लागि प्लेटफर्म, मार्गदर्शन र संरचनाको अभाव हुन्छ, जसले उनीहरूको विचारलाई वास्तविक प्रोजेक्टमा रूपान्तरण गर्न कठिन बनाउँछ। हामी ती अवरोधहरू हटेपछि विद्यार्थीहरूले के सिर्जना गर्छन् भनेर हेर्न उत्साहित छौं।’
यस साझेदारीको मूलमा दुई साझा दृष्टि छन् । प्रोग्रामिजका सह–संस्थापक पुनित जाजोदियाले न्यून स्रोत भएका क्षेत्रमा समेत कोडिङ सम्भव बनाउने उद्देश्यका साथ प्रोग्रामिज स्थापना गरेका हुन् । ‘हातमा कलम होइन, कीबोर्ड’ बाट सिर्जना गर्न विद्यार्थीहरूलाई प्रेरित गर्ने शिक्षण पद्धतिमा जोड दिदै आएका छन् ।
उता, युनाइटेड एकेडेमी ग्रुपकी डेपुटी डायरेक्टर मनस्वी बान्तवाले विद्यार्थीहरूलाई ‘पोस्ट–एआई युग’का लागि तयार पार्ने दृष्टिकोण अघि बढाइरहेकी छन् ।
‘शिक्षा समयसँगै परिवर्तन हुनुपर्छ,’ मनस्वी बान्तवाले भनिन्, ‘प्रोग्रामिज प्रोलाई कक्षा शिक्षणमा एकीकृत गरेर, हामी विद्यार्थीहरूलाई केवल कोडिङ सिकाइरहेका छैनौं — उनीहरूलाई सिर्जनात्मक सोच, समस्या समाधान र डिजिटल युगमा नेतृत्व गर्न सक्षम बनाइरहेका छौं ।’
 
                  
                  
              
                                      आईसीटी समाचार