सार्वजनिक सेवा प्रसारण (PSB) नेपालले अंग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरू गरेको छ । पीएसबी नेपालको पहिलो वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अंग्रेजी च्यानलको शुभारम्भ गरेका हुन् ।
यसै अवसरमा उनले सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिन्ह र लोगो सार्वजनिक पनि गरेका थिए । एनटिभी वर्ल्ड च्यानल नेपालको ग्लोबल दुत बन्नपर्ने पौडेलले बताएका छन् ।
‘नेपाल्स प्रस्पेक्टिभ टु द वर्ल्ड’ भन्ने नाराका साथ सञ्चालनमा आएको यस च्यानलले विश्वभर नेपाली संस्कृति र नेपालको प्रतिनिधित्व गर्ने लक्ष्य राखेको छ ।
एनटीभी वर्ल्ड हरेक दिन साँझ ७ बजेदेखि राति ११ बजेसम्म चार घण्टा कार्यक्रम प्रशारण हुनेछ । च्यानलले ‘डिजिटल फस्ट’ दृष्टिकोण अपनाउँदै मल्टि-प्लेटफर्म पत्रकारिता र ट्रान्समिडिया अभ्यासमार्फत विश्वभर दर्शकसँग जोडिने योजना बनाएको छ ।
पीएसबी नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टका अनुसार, एनटीभी वर्ल्डले अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरी नेपालका सांस्कृतिक, सामाजिक र पर्यटकीय विशेषताहरू अंग्रेजी भाषामा प्रसारण गर्नेछ, जसले देशको पहिचान विश्व स्तरमा प्रवर्द्धन गर्न सहयोग गर्नेछ।
आईसीटी समाचार