बेलायतको डाटा नियामकले बालबालिकाको गोपनीयता उल्लङ्घन गरेको आरोपमा रेडिटलाई ठूलो जरिवाना गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार, उक्त प्लेटफर्मले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको डाटा गैर–कानूनी रूपमा प्रयोग गरेको पाइएको छ।
इन्फर्मेशन कमिसनर्स अफिस (ICO) ले मंगलबार रेडिटलाई १.४५ करोड पाउन्ड (करीब २० मिलियन डलर वा लगभग ₹१६७ करोड) जरिवाना गरेको जनाएको छ। आईसीओका प्रमुख जोन एडवर्ड्सले भने, “प्लेटफर्मले बालबालिकाले बुझ्न नसक्ने र नियन्त्रण गर्न नपाउने किसिमको डाटा प्रयोग गरेको छ। यसले उनीहरूलाई हानिकारक सामग्रीमा पहुँच हुने जोखिममा राख्यो — यो पूर्ण रूपमा अस्वीकार्य छ।”
नियम कडा भएपछि अन्य प्लेटफर्महरू पनि नियामकको निगरानीमा आएका छन्। यसै महिनामा इम्गरका मालिक मीडियाल्याब लाई करिब ₹२.५ करोड बराबरको जरिवाना गरिएको थियो भने छोटो भिडियो एप टिकटक पनि वर्षौंदेखि जाँचको दायरा भित्र रहेको छ।
आईसीओका अनुसार, रेडिटले आधिकारिक रूपमा १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई अनुमति नदिने दाबी गर्थ्यो, तर जुलाई २०२५ भन्दा पहिले उमेर जाँचको प्रभावकारी व्यवस्था थिएन। जुलाई २०२५ मा उमेर सोध्ने प्रक्रिया सुरु भए पनि त्यो केवल सेल्फ–डिक्लरेशनमा आधारित थियो र सजिलै छल्न सकिने भएको पाइएको थियो।
रेगुलेटरले भनेको छ कि अनलाइन प्लेटफर्महरूले बालबालिकालाई जोखिमबाट जोगाउन ‘एज एश्योरन्स’ जस्ता कडा व्यवस्थाहरू अपनाउनुपर्छ।
रेडिटले आफूमाथि लागेको जरिवाना प्रतिवाद गर्दै अपिल गर्ने योजना बनाइरहेको जनाएको छ र कम्पनीले प्रयोगकर्ताहरूको गोपनीयता एवं सुरक्षा प्रति समर्पित रहेको दाबी गरेको छ। नियामकले भने रेडिटको बालबालिकासम्बन्धी डेटा प्रयोगमा निगरानी जारी राख्ने स्पष्ट संकेत दिएको छ।
आईसीटी समाचार