कीवर्डहरू -

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्रमुख प्राविधिक अधिकृत रीना डंगोललाई तोकिएको छ। 

प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरबाट भएको निर्णयअनुसार उक्त जिम्मेवारी माघ २३ गतेदेखि लागू हुने गरी प्रदान गरिएको हो।

निर्णय कार्यान्वयनसँगै डंगोलले आजै कम्पनीको निमित्त प्रबन्ध निर्देशकको रूपमा पदभार सम्हालेकी छन्। व्यवस्थापन तहको यो जिम्मेवारी सम्हाल्दै उनी टेलिकमको दैनन्दिन सञ्चालन तथा नीतिगत समन्वयको नेतृत्वमा रहनेछिन्।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छन् । उनी २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिएकी थिइन् ।

उनी २०८० जेठ ३२ मा नेपाल टेलिकमको नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशक बनेकी थिइन् । उनी हाल प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन् ।

पदभार ग्रहण गर्दै डंगोलले ग्राहकको चाहना र सरकारको प्राथमिकताबमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताएकी छन् । उनले कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने विचार राखेकी छन् ।