सामसङले आफ्नो मेसेज एप यही जुलाईदेखि बन्द गर्ने सूचना दिएको छ। कम्पनीले प्रयोगकर्ताहरूलाई समयमै नयाँ एपमा सर्न सुझाव दिएको छ।
कम्पनीले आफ्नो वेबसाइटमा सेवा समाप्ति सूचना प्रकाशित गर्दै यस वर्षको जुलाईदेखि सामसङ मेसेज एप उपलब्ध नहुने जानकारी दिएको हो। हालसम्म सामसङ मेसेज प्रयोग गरिरहेका प्रयोगकर्तालाई गुगल मेसेज एपलाई डिफल्ट म्यासेजिङ एपका रूपमा प्रयोग गर्न सिफारिस गरिएको छ।
सामसङले मेसेज एप बन्द गर्दै प्रयोगकर्तालाई गुगल मेसेजमा सर्न आग्रह गरेको छ। अमेरिकामा प्रयोगकर्ताहरूले आरसीएस म्यासेजिङ सुविधा पाउनेछन्, जसले उच्च गुणस्तरीय मिडिया पठाउन, समूह च्याटमा सहभागी हुन र रियल टाइम टाइपिङ संकेत हेर्न सजिलो बनाउँछ।
ग्यालेक्सी स्मार्टफोन प्रयोगकर्ताले केही सामसङ मेसेजसम्बन्धी अनुकूलन विकल्प गुमाउन सक्छन्। तर, गुगल मेसेजमा जेमिनिबाट उत्पन्न एआई सुविधासहित च्याटमा फोटोहरूलाई आकर्षक रूपमा पुनः निर्माण गर्न सक्ने सुविधा उपलब्ध छ।
यी सुविधासँगै गुगल मेसेजले सामसङ प्रयोगकर्तालाई स्मार्टफोन, ट्याब्लेट वा स्मार्टवाचबीच च्याट सार्न पनि सजिलो बनाउँछ।
कम्पनीले केही वर्षदेखि क्रमिक रूपमा सामसङ मेसेज बन्द गर्दै आएको छ। ग्यालेक्सी जेड फोल्ड ६ र फोल्ड ६ बाट सुरु गर्दै, त्यसपछि ग्यालेक्सी एस २५ श्रृंखलामा सामसङले सामसङ मेसेज एप प्रि–इन्स्टल गर्न रोक्दै गुगल मेसेज एपलाई डिफल्ट एपका रूपमा प्रि–इन्स्टल गर्न थालेको थियो।
सामसङ मेसेज एप ग्यालेक्सी स्टोरमा उपलब्ध छ, तर कम्पनीले अन्तिम मिति सम्बन्धी जानकारी एपमै सार्वजनिक गरिने बताएको छ।
आईसीटी समाचार