लूसी गुओ नाम गरेकी अमेरिकाकी ३० वर्षीया युवती हालै सबैभन्दा कम उमेरमा सेल्फ–मेड महिला डलर अर्बपति बन्न सफल भएकी छन् । उनले यो उपलब्धि हासिल गर्दै पप स्टार टेलर स्विफ्ट लाई समेत पछि पारेकी छन् ।
लूसी एक एआई स्टार्टअप स्केल एआईकी संस्थापक हुन् । १ जुनमा लूसीको कम्पनी स्केल एआई एक विशेष डील गर्न गइरहेको छ, जसअन्तर्गत कम्पनीका पूर्वकर्मी र लगानीकर्ताहरूलाई आफ्ना केही सेयर बेच्ने अवसर दिइने छ ।
यस डीलपछि कम्पनीको मूल्यांकन २५ अर्ब डलर (२५ बिलियन) पुग्ने अनुमान गरिएको छ । गत वर्ष मे महिनामा यो मूल्य १३.८ अर्ब डलर मात्र थियो, जसको अर्थ एक वर्षमै कम्पनीको मूल्यमा ८० प्रतिशत वृद्धि भएको हो ।
स्केल एआई कम्पनीले मेसिन लर्निङ मोडल बनाउन प्रयोग हुने डेटालाई व्यवस्थित र शुद्ध पार्ने काम गर्छ । एआई प्रविधिको यो युगमा स्केल एआईलाई पिक्स एण्ड सोभेल्स प्रदान गर्ने कम्पनीका रूपमा लिइन्छ । यसका प्रमुख ग्राहकहरूमा अमेरिकी सरकार र ओपनएआई पनि छन् ।
को हुन् लूसी?
लूसीको जन्म सन् १९९४ मा क्यालिफोर्नियाको फ्रेमन्ट शहरमा भएको थियो । उनका आमाबुबा चीनबाट अमेरिका आएर बसोबास गरेका थिए। सानै उमेरदेखि लूसीलाई प्रविधिप्रति रुचि थियो। किशोरावस्थामै उनले आफैंले कोडिङ सिकिन् र अनलाइन गेम "Neopets" का लागि बोट बनाएर पैसा कमाउन थालिन्।
पछि उनले कम्प्युटर साइन्स अध्ययन गर्नका लागि कार्नेगी मेलोन विश्वविद्यालयमा भर्ना लिइन्, तर सन् २०१४ मा थिएल फेलोशिप प्राप्त गरेपछि उनले पढाइ बीचमै छाडेकी थिइन्।
लूसी गुओले कलेजमा कम्प्युटर साइन्स पढ्दै गर्दा पढाइ बीचमै छाडेकी थिइन् । उनले केही समय क्वोरा मा काम गरिन्, जहाँ उनको भेट अलेक्जेन्डर वाङसँग भयो । त्यसपछि उनले स्न्यापच्याटमा पनि काम गरिन् ।
सन् २०१६ मा, २१ वर्षको उमेरमा, लूसीले वाङसँग मिलेर स्केल एआई सुरु गरिन् । वाङ कम्पनीका सीईओ बने भने लूसीले अपरेसन र प्रोडक्ट डिजाइन सम्हालिन् । सन् २०१८ मा दुवैजना फोब्र्स ३० अन्डर ३० सूचीमा परेका थिए । यद्यपि सोही वर्ष लूसीले कम्पनी छोडिन्, किनभने कम्पनी सञ्चालनको शैलीमा वाङसँग मतभेद भयो। पछि उनी नयाँ व्यवसायमा लागिन् ।
कति छ लूसीको नेटवर्थ?
फोर्चुनको एक रिपोर्ट अनुसार लूसीसँग अझै पनि स्केल एआईको करिब ५ प्रतिशत सेयर छ । कम्पनी छाडे पनि उनले हिस्सेदारी कायम राखेकी छन् । फोर्ब्सका अनुसार लूसीको हालको सम्पत्ति (नेटवर्थ) करिब १.२५ अर्ब डलर रहेको छ । यो वृद्धि स्केल एआई को मूल्यमा एक वर्षमा भएको ८० प्रतिशत वृद्धि का कारण सम्भव भएको हो ।