कीवर्डहरू -

दोस्रो यल मेयर्स कप रोबोटिक्स प्रतियोगिता सम्पन्न

दोस्रो यल मेयर्स कप रोबोटिक्स प्रतियोगिता सम्पन्न

ललितपुर महानगरपालिकाभित्रका १२ वटा सामुदायिक विद्यालयबीच दोस्रो यल मेयर्स कप अन्तरविद्यालय रोवोटिक्स प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता माघ २९, २०८२ गते ललितपुरको सानेपास्थित क्लासिक भेन्युमा आयोजना गरिएको हो।

प्रतियोगिता सञ्चालनका लागि ललितपुर महानगरपालिकाको समन्वय तथा केडीडीआई फाउन्डेसन जापानको आर्थिक सहयोग रहेको थियो भने प्राविधिक सहयोग साझा शिक्षा ई-पाटी नेपाल ले गरेको थियो। कार्यक्रमको उद्घाटन केडीडीआई फाउन्डेसन जापानका अध्यक्ष कात्सुतोशी हनाहाराले गरेका थिए। सो अवसरमा ललितपुर महानगरपालिकाका शिक्षा अधिकृतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतियोगिता दुई विधामा आयोजना गरिएको थियो। पहिलो विधाअनुसार हरेक विद्यालयका विद्यार्थीले तोकिएको समयमा कोडिङ गरी स्वचालित रोवोटिक्स मोड्युल तयार पार्नुपर्ने थियो। दोस्रो विधामा विद्यालयहरूले आफ्नै सिर्जनशीलता प्रयोग गरी स्वचालित रोवोटिक्स मोड्युलको प्रदर्शनी गरेका थिए। पहिलो विधामा प्रत्येक विद्यालयबाट ४ जना र दोस्रो विधामा २ जना विद्यार्थी सहभागी भएका थिए।

नतिजाअनुसार पहिलो विधामा बालविनोद विद्यालय प्रथम, महालक्ष्मी विद्यालय द्वितीय र प्रभात माध्यमिक विद्यालय तृतीय भएका छन्। प्रदर्शनीतर्फ हिन्दु विद्यापिठ माध्यमिक विद्यालय प्रथम, श्रमिक बालविज्ञान आधारभूत विद्यालय द्वितीय र जलपा माध्यमिक विद्यालय तृतीय भएका छन्। दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु. १०,०००, रु. ८,००० र रु. ६,००० नगद पुरस्कारसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै सबै सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

null

सहभागी विद्यार्थीहरूको तर्फबाट बालविनोद माध्यमिक विद्यालयकी छात्रा सोनाली सिंले रोवोटिक्स कोडिङले समूहकार्य गर्न सहज बनाएको र अन्य विद्यालयका विद्यार्थीहरूसँग अनुभव आदानप्रदान गर्ने अवसर मिलेको बताइन्।

यस्तै, प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक देविप्रसाद दुलालले प्रतियोगिताको तयारीका लागि महानगरपालिकाले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो। रोवोटिक्स कोडिङ अभ्यासले विद्यार्थीमा समूहकार्य र समस्या समाधान गर्ने सीप विकास भएको उहाँको भनाइ थियो।

कार्यक्रममा साझा शिक्षा ई-पाटी नेपालका कोषाध्यक्ष, केडीडीआई फाउन्डेसनका अध्यक्ष तथा निर्देशकले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। समापन समारोहमा साझा शिक्षा ई-पाटी नेपालका कोषाध्यक्षले बदलिँदो समयअनुकूल शिक्षण प्रविधि अवलम्बन गर्न रोवोटिक्स कोडिङ र कम्प्युटरमार्फत सिकाइ प्रभावकारी बनेको उल्लेख गर्दै महानगरपालिकासँगको सहकार्यलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।

null