कीवर्डहरू -

सात प्रदेशका सात उत्कृष्ट स्टार्टअप प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२५ बाट सम्मानित

सात प्रदेशका सात उत्कृष्ट स्टार्टअप प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२५ बाट सम्मानित

सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२५ बाट सम्मानित गरिएको छ ।

शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा सात प्रदेशका सात स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी आइसिटी रिकग्निसनबाट सम्मान गरिएको हो । 

सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान र प्रोत्सान गर्ने उद्देश्यले प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२५ प्रदान गरिएको छ । यस विधामा गत पाँचवर्षको अवधिमा सञ्चालन भएका प्रदेशका स्टार्टअप सहभागी हुन पाउने व्यवस्था थियो । 

यस वर्ष कोशी प्रदेशबाट मेडिक्याब टेक्नोलोजिज प्रालि, मधेश प्रदेशबाट जानकी सफ्ट इन्टरनेशनल प्रालि, बागमती प्रदेशबाट क्लाउड मन्डप प्रालि, गण्डकी प्रदेशबाट ब्राण्ड बिल्डर प्रालि, लुम्बिनी प्रदेशबाट गोल्डेन टेक्नोसफ्ट आईटी सोलुसन, कर्णाली प्रदेशबाट एभरेष्ट वायरलेस नेटवर्क प्रालि र सुदूरपश्चिम प्रदेशबाट बिजी इन्फोटेक्स प्रालि प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२५ बाट सम्मानित भएका छन् । 

आइसिटी अवार्डले काठमाडौमा मात्र सिमित नभएर देशका सातै प्रदेशमा बसेर काम गरिरहेका स्टार्टअप र इन्नोभेसनलाई खोज्ने प्रयास गरिरहेको छ । 

सातै प्रदेशका स्टार्टअपका प्रतिनिधिहरु काठमाडौं आएर इन्डस्ट्री भिजिट र २ दिने स्टार्टअप फेस्टमा सहभागी भएका थिए ।

यस्ता छन् अवार्ड पाउने सात प्रदेशका सात स्टार्टअप

मेडिक्याब टेक्नोलोजिज प्रालि

कोशी प्रदेशको विराटनगरमा रहेको स्टार्टअप हो, मेडिक्याब टेक्नोलोजिज । मेडीक्याबले स्वास्थ्य सेवालाई डिजिटलाइज गर्ने काम गरिरहेको छ । मेडिक्याबमा करिब १० जनाले रोजगारी पाएका छन् । 

जानकी सफ्ट इन्टरनेशनल प्रालि

मधेश प्रदेशको जनकपुरधाममा रहेको स्टार्टअप हो, जानकी सफ्ट । यस कम्पनीले वेब डिजाइन, डेभलपमेन्ट, मोबाइल एप तथा सफ्टवेयर डेभलपमेन्ट र डिजिटल मार्केटिङसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ। जानकी सफ्टमा ६ जनाले रोजगारी पाएका छन् । 

क्लाउड मन्डप प्रालि

क्लाउड मण्डप बागमती प्रदेशको स्टार्टअप हो। यस कम्पनीले क्लाउड कम्प्युटिङ, डेटा साइन्स तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ। क्लाउड मण्डपमा २५ बढीले रोजगारी पाएका छन् । 
ब्राण्ड बिल्डर प्रालि

गण्डकी प्रदेशको स्टार्टअप हो, ब्राण्ड बिल्डर । वेब तथा मोबाइल एप डेभलपमेन्ट, ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ सेवा प्रदान गर्दै आएको कम्पनीले रिजुमे एआई, रिबज पस, रिबज एआई जस्ता प्लेटफर्म समेत विकास गरेको छ । कम्पनीमा २८ जनाले रोजगारी पाएका छन् ।

गोल्डेन टेक्नोसफ्ट आईटी सोलुसन

लुम्बिनी प्रदेशको बुटवलमा रहेको स्टार्टअप हो, गोल्डेन टेक्नोसफ्ट । एआई, ब्लकचेन, कस्टम सफ्टवेयर सोलुसन विकास गर्दै आएको कम्पनीको बिजनेस साथी नामक ईआरपी सफ्टवेयर समेत रहेको छ । गोल्डेन टेक्नोसफ्टमा २५ बढीले रोजगारी पाएका छन् ।

एभरेष्ट वायरलेस नेटवर्क प्रालि

कर्णाली प्रदेशको सुर्खेतमा रहेको स्टार्टअप हो, एभरेष्ट वायरलेस नेटवर्क । १६८ जनालाई रोजगारी दिएको यसले कर्णालीसहित सुदूरपश्चिम र लुम्बिनीका २३ बढी जिल्लामा इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

बिजी इन्फोटेक्स प्रालि

सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको स्टार्टअप हो, बिजी इन्फोटेक्स । कम्पनीले वेबसाइट, मोबाइल एप तथा सफ्टवेयर डेभलपमेन्ट, डिजिटल मार्केटिङ र आईटी ट्रेनिङ प्रदान गर्दै आएको छ । यसमा २२ जनाले रोजगारी पाएका छन् ।