शार्क ट्यांक नेपाल असार १८ गतेबाट प्रसारण हुने भएको छ । असार १८ गतेदेखि प्रत्येक हप्ताको बुधबार र बिहीबार राती ९ बजे हिमालय टिभीबाट प्रसारण हुनेछ ।
कार्यक्रमको छायांकन नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा भएको थियो । छायांकन सकिएपश्चात शो प्रसारण हुन लागेको हो । बेलायतबाट सुरू भएको शार्क ट्यांक शो विश्वै चर्चित बिजनेस रियालिटी शो हो ।
शार्क ट्यांक नेपालमा शार्कको रूपमा आईएमई ग्रुपका सह-संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङ्सका प्रबन्ध निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य, पद्य ज्योति ग्रुपका निर्देशक सौरभ ज्योती र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ रहेका छन् ।
शोलाई हिमालय रोडिज फेम्ड सिमोस सुनुवारले निर्देशन गरेका छन् । शार्कबाट उद्यमीका लागि ३५ देखि ४० करोड रुपैयाँ लगानी जुट्ने अपेक्षा गरिएको छ ।
नेपालमा शार्क ट्यांक ल्याउन ३ वर्षअगाडि नै सोनि पिक्चर्ससँग हिमालय टिभीले सम्झौता गरेको थियो । शार्क ट्यांक सुरू गर्ने नेपाल ५४ ओैं देश हो । विश्कभर शार्क ट्यांकमार्फत ३०० शार्कहरू पर्दामा देखिएका छन् ।