कीवर्डहरू -

आज राति १२ बजेदेखि मौन अवधि, फेसबुक, टिकटक लगायत डिजिटल प्लेटफर्मबाट प्रचार गर्न निषेध

आज राति १२ बजेदेखि मौन अवधि, फेसबुक, टिकटक लगायत डिजिटल प्लेटफर्मबाट प्रचार गर्न निषेध

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार निषेध अवधि आज राति १२ बजेदेखि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।

निर्वाचन प्रचारप्रसारको कार्य निषेध गरिएको यस अवधिलाई ‘मौन अवधि’ भनिन्छ। मतदानका लागि शान्त र निष्पक्ष वातावरण कायम गराउने उद्देश्यले मतदानको दिनभन्दा अघि निश्चित समय तोकी मौन अवधि घोषणा गरिन्छ। मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि लागू हुने मौन अवधि मतदान सम्पन्न नहुन्जेलसम्म कायम रहनेछ।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचरण पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। यस अवधिमा कुनै सार्वजनिक सभा, जुलुस, घरदैलो, प्रचारात्मक कार्यक्रम, राजनीतिक विज्ञापन तथा मत माग्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।

आयोगका अनुसार सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा शेयर गर्न पाइँदैन। फेसबुक, टिकटक, युट्युब लगायतका प्लेटफर्म प्रयोग गरी प्रचार गर्न, बुस्ट गर्न वा लाइभमार्फत मत प्रभावित पार्न निषेध गरिएको छ।

त्यसैगरी निर्वाचन प्रचारप्रसार तथा मत माग्न साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), फोन, म्यासेन्जर वा अन्य कुनै साधन प्रयोग गर्न पाइँदैन। कुनै पनि माध्यमबाट मतदातालाई प्रभावित पार्ने प्रयास आचारसंहिता उल्लङ्घन मानिनेछ।

निर्वाचन प्रचारको समयसीमा व्यवस्थित गर्नुको मूल उद्देश्य सबै राजनीतिक दल र उम्मेदवारलाई समान अवसर प्रदान गर्नु तथा मतदातालाई स्वतन्त्र रूपमा निर्णय लिन सक्ने वातावरण सिर्जना गर्नु रहेको आयोगले जनाएको छ।

आयोगले मौन अवधिको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा मतदातालाई आग्रह गर्दै उल्लङ्घन गरे कानुनी कारबाही हुने चेतावनी दिएको छ।

null