कीवर्डहरू -

‘गल्र्स इन आईसीटी’ इनिसिएटिभ काठमाडौंमा सुरु हुँदै, दक्षिण एशियाली किशोरीहरूलाई सशक्त बनाउने लक्ष्य

‘गल्र्स इन आईसीटी’ इनिसिएटिभ काठमाडौंमा सुरु हुँदै, दक्षिण एशियाली किशोरीहरूलाई सशक्त बनाउने लक्ष्य

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) अन्तर्गतको दक्षिण एशियाको लागि क्षेत्रीय कार्यालय तथा नवप्रवर्तन केन्द्र, दिल्लीले नेपाल दूरसञ्चार प्राधिकरणको साझेदारीमा “गल्र्स इन आईसीटी डे इनिसिएटिभ” को उद्घाटन कार्यक्रम २३ मे २०२५ मा काठमाडौंस्थित होटल हिमालयमा आयोजना गर्ने भएको छ ।

यस वर्षको नारा “गल्र्स इन आईसिटी फर इन्क्लुजिभ डिजिटल ट्रान्सफरमेसन” रहेको छ, जसले डिजिटल रुपान्तरणको प्रक्रियामा युवती, किशोरी र केटीहरुलाई —विशेष गरी कमजोर र जोखिममा परेका वर्गहरुलाई समावेशी र समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता उजागर गर्छ । प्रविधिमैत्री संसारमा पहुँच मात्र पर्याप्त होइन, अवसरको सुनिश्चितता पनि अत्यावश्यक छ ।

कार्यक्रमले १२ देखि २४ वर्षसम्मका केटीहरू, विशेष गरी नेपालका दुर्गम क्षेत्र, विपन्न समुदाय तथा अपाङ्गता भएका युवतीहरूलाई लक्षित गर्दै उनीहरूलाई विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित (स्टेम) अध्ययनप्रति आकर्षित गर्न, डिजिटल सीप विकास गर्न तथा प्रविधिलाई सुरक्षित र प्रभावकारी रूपमा अपनाउन प्रेरित गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रम हाइब्रिड ढाँचामा (सशारीरिक र भर्चुअल माध्यमद्वारा) आयोजना गरिनेछ जसले यस क्षेत्रभरि—विशेष गरी दक्षिण एशियाभरिका सहभागीहरूलाई समेट्नेछ । उद्घाटनपछिका महिनाहरूमा, आगामी जुलाईदेखि सेप्टेम्बरसम्म, सयौं किशोरीहरूका लागि विभिन्न व्यावहारिक तालिमहरू सञ्चालन गरिनेछ, जसले उनीहरूलाई डिजिटल युगमा आत्मविश्वासपूर्वक नेतृत्व गर्न र उत्कृष्टता हासिल गर्न सशक्त बनाउने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय गल्र्स इन आईसीटी डे प्रत्येक वर्षको अप्रिल महिनाको चौथो बिहीबार मनाइन्छ । यो दिवसले किशोरीहरूलाई सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट आफ्नो करियर निर्माण तथा भविष्यको आकांक्षामा सहयोग पुर्‍याउने अवसर प्रदान गर्दछ । हालसम्म १७५ देशहरूमा ११,५९० भन्दा बढी कार्यक्रमहरू मार्फत ४ लाख १७ हजारभन्दा बढी किशोरीहरू यो अभियानमा सहभागी भइसकेका छन् ।

यो पहलले डिजिटल पहुँचमा रहेको लैङ्गिक खाडल हटाउन, सबैका लागि प्रविधिको फाइदा सुनिश्चित गर्न र दिगो तथा समावेशी डिजिटल भविष्य निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।