कीवर्डहरू -

एक्लोपनको डर हटाउने चिनियाँ मोबाइल एप ‘आर यू डेड’ चर्चामा

एक्लोपनको डर हटाउने चिनियाँ मोबाइल एप ‘आर यू डेड’ चर्चामा

ठूला सहरहरूको चमकधमकबीच एक्लै बस्ने मानिसहरूलाई सधैं एउटा डर सताइरहन्छ, यदि आफूलाई केही भयो भने, कसले थाहा पाउने? यही चिन्तालाई सम्बोधन गर्न चीनमा विकसित एउटा मोबाइल एप, 'आर यू डेड' एप अहिले चर्चामा छ। यस एपले ठूला सहरहरूमा बढ्दो एकलोपन र व्यक्तिगत सुरक्षाको विषयलाई सार्वजनिक बहसमा ल्याएको छ।

यो 'आर यू डेड' एप प्रयोग गर्न निकै सरल छ। प्रयोगकर्ताले हरेक दुई दिनमा एकपटक एप खोलेर एउटा बटन थिच्नुपर्छ, जसले आफू सुरक्षित रहेको पुष्टि गर्छ। यदि लगातार दुई दिनसम्म बटन थिचिएन भने, प्रयोगकर्ताले पहिल्यै चयन गरेको आकस्मिक सम्पर्कलाई सूचना पठाइन्छ, जसले सम्भावित जोखिमको संकेत गर्छ।

चीनमा एक्लै बस्ने मानिसहरूको संख्या तीव्र रूपमा बढिरहेको छ। अनुमानअनुसार सन् २०३० सम्म यो संख्या २० करोड नाघ्न सक्छ। यस्तो अवस्थामा यो एप एक्लै बस्ने कर्मचारी, घरबाट टाढा अध्ययनरत विद्यार्थी, अन्तर्मुखी व्यक्तिहरू तथा मानसिक दबाब झेलिरहेका मानिसहरूका लागि उपयोगी साधनको रूपमा हेरिएको छ।

एपको नामलाई लिएर केही विवाद पनि देखिएको छ। कतिपयले नामलाई अशुभ ठानेपछि कम्पनीले यसको नाम परिवर्तन गर्नेबारे विचार गरिरहेको जनाएको छ।

तीन जना युवाले न्यून लागतमा तयार पारेको यो एप आज चीनमा सबैभन्दा धेरै डाउनलोड हुने सशुल्क एपमध्ये पर्न सफल भएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि यसले राम्रो स्थान बनाइसकेको छ।

युवामाझ लोकप्रिय बनेपछि कम्पनीले अब बुढापाकाहरूलाई लक्षित विशेष संस्करण ल्याउने तयारी गरिरहेको छ। चीनमा ठूलो संख्यामा वृद्धवृद्धा एक्लै बस्ने भएकाले यो पहललाई सामाजिक रूपमा महत्त्वपूर्ण मानिएको छ।

एकान्त जीवनशैली बढिरहेको समयमै आएको यस्तो प्रविधिले सुरक्षा र मानवीय संवेदनाको नयाँ बहस सुरु गराएको छ।