गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन/प्रदर्शनको तयारी, समन्वय र सञ्चालनमा डिस्कर्ड प्लेटफर्म निर्णायक माध्यम बनेको जाँचबुझ आयोग २०८२ को प्रतिवेदनले देखाएको छ। सरकारले सोही प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।
प्रतिवेदन अनुसार जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण कार्यक्रम हुने भन्दै तीन समूहबाट निवेदन परेको आधारमा सुरक्षा योजना बनाइएको थियो। तर सोही समयमा डिस्कर्डमा आगजनी, हिंसात्मक सन्देश र हतियार प्रयोगबारेका संवाद पनि आदानप्रदान भएको पाइएको छ।
विशेषगरी भिडियो गेम खेल्ने समुदायमा लोकप्रिय मानिने डिस्कर्डमार्फत युवाहरू संगठित भएको र त्यहीँबाट भ्रष्टाचारविरोधी आन्दोलनको माहोल बनेको प्रतिवेदनमा उल्लेख छ। “हामी नेपाल” अन्तर्गतको “युथ एगेन्स्ट करप्शन” र “युवा हव” नामका दुई सर्भर बढी सक्रिय रहेको पाइएको छ।
आन्दोलनकारीहरूले कहाँ, कहिले र कसरी भेला हुने भन्ने विषयमा डिस्कर्डमै छलफल गरेको तथा सर्भरमा गरिएको भोटिङमार्फत सुशीला कार्कीलाई प्रधानमन्त्रीमा चयन गरिएको समेत प्रतिवेदनले देखाएको छ।
डिस्कर्ड निःशुल्क सञ्चार प्लेटफर्म हो, जहाँ प्रयोगकर्ताले सर्भर बनाएर वा सर्भरमा जोडिएर टेक्स्ट, अडियो र भिडियो संवाद गर्न सक्छन्। शुरूमा गेमरहरूका लागि निर्माण गरिएको यो प्लेटफर्म अहिले सामाजिक छलफल, समूह निर्माण र राजनीतिक अभियान सञ्चालनसम्म व्यापक रूपमा प्रयोग हुन थालेको छ।
प्रतिवेदनका अनुसार आन्दोलनको क्रममा टिकटक र रेडिटजस्ता प्लेटफर्ममा “नेपो बेबी किड्स” लगायतका अभियान चलाएर माहोल तयार पारिएको थियो भने डिस्कर्डलाई प्रमुख समन्वय माध्यम बनाइएको थियो। भदौ २२ को रातिदेखि मध्यरातसम्म करिब ५० घण्टामा सर्भरमा ६ लाख ६४ हजार पटक संवाद लेखिएको उल्लेख छ।
भदौ २२ मा स्कुल–कलेजको युनिफर्म लगाएर आन्दोलनमा जाने, बिहान ९ बजे माइतीघर मण्डलामा भेट्ने र काठमाडौं बाहिरका प्रमुख शहरमा पनि प्रदर्शन गर्ने योजना डिस्कर्डमा तय भएको पाइएको छ।
प्रतिवेदनले नेपो बेबी, अभिव्यक्ति स्वतन्त्रता, करदाताको पैसाको दुरुपयोग र राजनीतिक सुधारजस्ता विषयमा डिस्कर्डमा निरन्तर छलफल भएको जनाएको छ। भदौ २३ गते शान्तिपूर्ण प्रदर्शन चलिरहँदा पनि सर्भरमा संवाद जारी रहेको, निषेधित क्षेत्र तोडिएपछि भीड अनियन्त्रित बनेको र प्रहरीसँग झडप सुरु भएपछि ब्यारिकेड कसले र किन तोड्यो भन्ने विषयमा पनि छलफल भएको प्रतिवेदनमा उल्लेख छ।
कर्फ्यू लागेपछि संसद भवनबाट बाहिरिन डिस्कर्डमार्फत सन्देश गएको र सडकमा दमन नरोकिएपछि आन्दोलनलाई हिंसात्मक बनाउने खालका सन्देशहरू पनि त्यहीँबाट आएका प्रतिवेदनको निष्कर्ष छ। आगो सल्काउन प्रयोग हुने मोलोटोभ ल्याउने विषयमा समेत डिस्कर्डमा छलफल भएको पाइएको छ।
प्रतिवेदनले मोलोटोभजस्तो सामग्री गैरकानूनी र प्राणघातक हुने उल्लेख गर्दै डिजिटल प्लेटफर्ममार्फत आन्दोलनको योजना, समन्वय र उक्साहट एकसाथ भएको संकेत गरेको छ।
आईसीटी समाचार