कीवर्डहरू -

असारमा एनपीनगको एघारौं संस्करण हुँदै

असारमा एनपीनगको एघारौं संस्करण हुँदै

नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को एघारौं संस्करण एनपीनग ११ आगामी असार १ देखि ६ सम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेटवर्किङ तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत प्राविधिकहरूका लागि यो कार्यक्रम ज्ञान आदानप्रदान, सीप अभिवृद्धि, र पेशागत सञ्जाल विस्तारको महत्वपूर्ण अवसरको रूपमा लिइएको छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य नेपालभित्रका साथै अन्तर्राष्ट्रिय स्तरका नेटवर्क र आइसिटी प्राविधिकहरूलाई एउटै मञ्चमा ल्याई अभ्यासमा आधारित तालिमहरू, अनुभव साटासाट तथा सञ्जाल विस्तार गर्न सहयोग पुर्‍याउनु हो । प्राविधिक क्षेत्रमा विश्वस्तरीय अनुभव बटुल्न चाहने सहभागीहरूका लागि एनपीनग ११ एक अनुपम अवसर भएको आयोजकको दाबी छ । 

आगामी जुन १५ देखि १७ सम्म तीन-दिने कार्यशाला सञ्चालन हुनेछ । यस कार्यशालामा आईएसपी कोर मास्टरक्लास, इन्टरप्राइज नेटवर्क १०१ र नेटवर्क अटोमेसन गरी तीन फरक प्रशिक्षण कोर्सहरू समावेश गरिएका छन् । 

आईएसपी कोर मास्टरक्लासमा इन्टरनेट सेवा प्रदायकहरूका लागि उन्नत नेटवर्क संरचना र सञ्चालन सम्बन्धी ज्ञान प्रदान गरिने छ । इन्टरप्राइज नेटवर्क १०१ मा संस्थागत सञ्जाल व्यवस्थापनका आधारभूत तर व्यावहारिक पक्षहरूमा केन्द्रित हुनेछ, भने नेटवर्क अटोमेसनमा नेटवर्क व्यवस्थापनलाई सहज, प्रभावकारी र स्वचालित बनाउने उपायहरू सिकाइनेछन् ।

यस्तै जुन १८ मा ट्यूटोरियल सत्र सञ्चालन गरिनेछ, जसमा अनुभवी प्रशिक्षकहरूले विभिन्न प्राविधिक विषयहरूमा गहिरो प्रशिक्षण दिनेछन् । यसले सहभागीहरूलाई व्यावहारिक समस्याको समाधान र प्रविधिको प्रयोगमा दक्षता हासिल गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

साथै जुन १९ मा सम्मेलन आयोजना गरिनेछ । यस सम्मेलनमा सूचना प्रविधिको क्षेत्रमा देखा परिरहेका नवीनतम प्रवृत्ति, चुनौती र सम्भावित समाधानबारे विभिन्न प्रस्तुति र छलफलहरू हुनेछन् । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहभागिता रहनेछ, जसले नेपालका प्राविधिक पेशाकर्मीहरूलाई विश्वव्यापी प्रविधि परिदृश्यसँग जोड्नेछ ।

कार्यक्रममा सहभागी हुन नाम दर्ता गराउन सकिने छ । NPIX, NREN, र ISPAN का सदस्यहरूका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । इच्छुक सहभागीहरूले जुन ५ भित्र छुटको सुविधा प्रयोग गर्न सक्ने छन् । दर्ता यहाँ क्लिक गरी गर्न सकिने छ ।