कीवर्डहरू -

जेनजी आन्दोलनपछि आईटी उद्योग: सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध

जेनजी आन्दोलनपछि आईटी उद्योग: सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध

गत भदौ २४ गते भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धविरूद्ध जेनजीहरूले आन्दोलन सुरू गरे । डिस्कोर्ड लगायतका डिजिटल माध्यमबाट सुरू भएको आन्दोलनले अन्ततः सत्ताप्लट भयो । 

धेरैले आफ्नो ज्यानको आहुति दिनुपर्‍यो भने संसद भवन, सिंहदरबार, शिलत निवास, अख्तियार, एनसेल, भाटभटेनी लगायतका सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भयो । नेताहरूको भागाभाग भयो ।

धेरै नेताहरूका व्यक्तिगत घर खण्डहरमा परिणत भए । जेनजीको आवरणमा भएको आगजनीबाट केही डेटा सेन्टरहरूमा क्षति भयो । तर धेरैको ब्याकअप सेवा हुँदा सेवा प्रवाहमा धेरै असर गरेन । सिंहदरबार जलेपनि त्यहाँभित्र रहेको डेटा सेन्टर जोगियो । 

जेनजी आन्दोलनले डिजिटल पूर्वाधारको महत्त्व कत्तिको छ भनेर पुनः एकपटक देखाएको छ । डिजिटल पूर्वाधारमा क्षति नहुँदा प्राय डिजिटल सेवाहमा कुनै समस्या आएन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्र प्रसाद पौड्यालले सिंहदरबार भित्र रहेको डेटा सेन्टर जोगिदा सेवा प्रवाहमा खासै असर नपरेको बताए । 

सर्वोच्च अदालत, यातायात व्यवस्था विभागको मुख्य डेटा सेन्टर जलेपछि ब्याकअप सिंहदरबारमा रहेको जीआईडीसा रहेको छ । त्यहाँ ब्याकप लिएर सेवा प्रवाह गर्न सकिने छ । यता थापथलीको सेन्ट्रल बिजनेस पार्कमा आगजनी हुँदा त्यहाँ रहेको क्लाउड हिमालयमा क्षति पुग्यो, जसले गर्दा सेवा प्रवाहमा केही समस्या देखिएको थियो । 

क्लाउड हिमालयले इटहरीमा रहको डिजास्टर रिकभरी केन्द्रबाट सेवा सुचारू राखेको क्लाउड हिमालयका प्रबन्ध निर्देशक निरञ्जन श्रेष्ठ बताउँछन् । 

आन्दोलनका क्रममा निजी क्षेत्रमा पनि आक्रमण भयो । बहुराष्ट्रिय कम्पनी एनसेलको केन्द्रिय कार्यालय नै जल्यो । तर डेटा सेन्टर नख्खुमा भएका कारण सेवामा कुनै समस्या आएन । यसरी बहुराष्ट्रिय कम्पनी माथि आक्रमण हुँदा वैदेशिक लगानी घट्न सक्ने जोखिम रहेको जानकारहरू बताउँछन् । 

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले पनि निजी क्षेत्रसँग मिलेर काम गर्ने बताइसकेका छन् । निजी क्षेत्र पनि आफ्नो मनोबल उच्च पार्दै अगाडि बढेका छन् । निजी क्षेत्रले ‘हामी फेरि ऊठ्ने छौं’ भनेर काम नै थालिसकेको छ ।  

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) का उपाध्यक्ष दिपेन चापागाईंले सूचना प्रविधि क्षेत्रको विकासको लागि सरकारसँग मिलेर काम गर्ने बताए । 

‘आईटी उद्योगको प्रवर्द्धनमा नास आईटीले काम गर्दै आएको छ । हामीले आइसिटी क्षेत्रको वृद्धिका लागि नेपाल सरकारसँग सहकार्य गर्दै आएका छौँ,’ उनले आइसिटी समाचारसँग भने, ‘आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छौं ।’ 

नेपालमा सूचना प्रविधि क्षेत्र धेरै सम्भावना बोकेको क्षेत्र हो । नेपाली युवाहरू विदेशको काम अहिले देशमै बसेर गरिरहेका छन् । देशमा विदेशी मुद्रा ल्याइरहेका छन् । सूचना प्रविधिले सेवा प्रवाहमा मात्रै रूपान्तरण ल्याएको छैन् । यसले रोजगारी समेत सिर्जना गरिरहेको छ । 

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले देशभित्र रोजगारी सिर्जना गर्न र वैदेशिक मुद्रा आर्जन गरेर अर्थतन्त्र सुदृढ बनाउन सहयोग गरिरहेको बताइन् । 

सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउनु पर्ने उनको भनाइ छ । ‘प्रविधिको प्रयोगले भ्रष्टाचार घटाउँछ र सेवा प्रवाह पनि छिटो छरितो हुन्छ,’ पाण्डेले अगाडि भनिन, ‘सेवा प्रवाह सुधार गर्न र नेपाललाई सूचना प्रविधिको हब बनाउन सरकारसँग मिलेर काम गर्न हामी तयार छौं ।’