अमेरिकामा टिकटकमा सम्भावित प्रतिबन्धको चर्चा तीव्र भइरहेका बेला, इन्स्टाग्राम लगातार नयाँ फिचरहरू सार्वजनिक गर्दै आफूलाई सशक्त बनाउने प्रयासमा जुटिरहेको छ । हिजो मात्र खबर आएको थियो कि कम्पनीले आईप्याडका लागि विशेष एपमा काम गरिरहेको छ भने, आज एक नयाँ रिपोर्टमा इन्स्टाग्राम ‘सिक्रेट कोड’ भएको लक्ड रील्स फिचरको परीक्षण गरिरहेको खुलासा भएको छ ।
प्रविधि वेबसाइट टेक क्रन्चका अनुसार, इन्स्टाग्रामले आफ्नो डिजाइन अकाउन्टमार्फत एउटा लक्ड रील सेयर गरेको थियो, जसलाई हेर्न प्रयोगकर्ताले “इन्टर सिक्रेट कोड” अर्थात् ‘गुप्त कोड प्रविष्ट गर्नुहोस्’ भन्ने सन्देश प्राप्त गरे । उक्त रीलमा सुराकीको रूपमा “1st # in the caption” अर्थात् ‘क्याप्सनको पहिलो ह्यासट्याग’ दिइएको थियो । यस केसमा पहिलो ह्यासट्याग #threads थियो, जुन नै कोडको रूपमा प्रयोग भयो । प्रयोगकर्ताले सही कोड प्रविष्ट गरेपछि, रीलमा “कमिंग सुन भन्ने ब्यानर देखा परेको थियो — जसले सम्भवतः थ्रेडसमा चाँडै हुने कुनै नयाँ लञ्चको संकेत गर्दछ ।
यो फिचर केवल रमाइलोका लागि मात्र नभई, प्रयोगकर्ताको संलग्नता बढाउने उद्देश्यले ल्याइएको बताइएको छ । विज्ञहरूका अनुसार, यो फिचर ब्रान्ड र कम्पनीहरूका लागि पनि निकै उपयोगी बन्न सक्छ । उनीहरूले अब आफ्नो प्रोडक्ट रिवील, टिजर भिडियो वा विशेष अफरहरू सिमित दर्शकहरूसम्म कोडमार्फत पु¥याउन सक्नेछन् ।
सामान्य प्रयोगकर्ताहरूका लागि यो फिचर एक रमाइलो माध्यम बन्न सक्छ, जसद्वारा उनीहरूले आफ्ना निजी कन्टेन्टहरू केवल छनौट गरिएका साथीहरूसँग सेयर गर्न सक्नेछन् । यद्यपि, केही प्रयोगकर्ताहरूले भने यस्तो सिक्रेट कोड प्रविष्ट गर्ने झन्झटबाट टाढा रहन चाहन सक्छन्, विशेष गरी यस्तो अवस्थामा जब इन्स्टाग्राम पहिले नै थुप्रै फिचरहरूले भरिएको छ ।