कीवर्डहरू -

सस्तो इन्टरनेट प्याकेजको प्रचारमा प्रधानमन्त्री बालेन, नेपाल टेलिकमको सेवामा दिए जोड

सस्तो इन्टरनेट प्याकेजको प्रचारमा प्रधानमन्त्री बालेन, नेपाल टेलिकमको सेवामा दिए जोड

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकहरूले घोषित रुपमै इन्टरनेटको शुल्क बढाउँदा नेपाल टेलिकमले भने सस्ता प्याकेजहरू सार्वजनिक गरेको छ । टेलिकमले घोषणा गरेको सस्तो प्याकेजलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि प्रचार गरेका छन् ।

टेलिकमले आजदेखि चार हजार ९९९ रुपैयाँमै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । टेलिकमको यो प्याकेजलाई प्रधानमन्त्री बालेनले प्रचार गरिदिएका हुन् । सरकारी स्वामित्वको टेलिकमले सहज र सर्वसुलभ रूपमै फाइबर इन्टरनेट प्याकेज घोषणा गर्दा प्रधानमन्त्री बालेनले पनि सेयर गरेर समर्थन जनाएका हुन् ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सुलभ दरको साना इन्टरनेट प्याकेज बन्दको घोषणा गरेपनि नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज कार्यान्वयनमा ल्याएको हो । टेलिकमका अनुसार सो प्याकेजको वार्षिक शुल्क चार हजार ९९९ रुपैयाँ तोकिएको छ ।

टेलिकमले ‘फाइबर टु द होम’अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकका लागि वाइफाई ६ मा नायँ प्याकेज उपलब्ध गराउने भएको छ । जसअनुसार वार्षिक इन्टरनेट र टेलिफोन प्याकेज जडान गर्दा १०० एमबिपिएसको ११ हजार ४९९ र १५० एमबिपिएसको १२ हजार ९९९ रुपैयाँ शुल्क लाग्ने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।

टेलिकमले २०० एमबिपिएसको इन्टरनेट १६ हजार ४९९ रुपैयाँमा उपलब्ध गराउनेछ । वार्षिक ग्राहकका लागि दैनिक ८०० देखि १००० एमबी मोबाइल डाटासमेत नि:शुल्क उपलब्ध हुनेछ । यी प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क (५०० रुपैयाँ) नलाग्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । यी सबै अफरहरु आजदेखि लागू हुनेछन् ।

यसअघि प्रधानमन्त्री बालेनले सरकारी स्वामित्वकै दूग्ध विकास संस्थानको चिजको प्रचार गरेका थिए । प्रधानमन्त्री बालेनले प्रचार गरेसँगै सो चिजको माग अहिलेसम्म बढिरहेको संस्थानले बताउँदै आएको छ ।