कीवर्डहरू -

‘अहिलेको कर नीतिले टेलिकम उद्योग दिगो हुन सक्दैन, यसलाई गम्भीर भएर सोच्नुपर्छ’

‘अहिलेको कर नीतिले टेलिकम उद्योग दिगो हुन सक्दैन, यसलाई गम्भीर भएर सोच्नुपर्छ’

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले अहिलेको कर नीतिले टेलिकम उद्योग दिगो हुन नसक्ने बताएका छन् । शुक्रबार एनपीनग ११ कन्फेरेन्सलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले दूरसञ्चार क्षेत्रमा कर बढी भएको बताउँदै यसलाई परिमार्जन गर्नुपर्ने बताएका हुन् । 

‘दूरसञ्चार क्षेत्रमा कर बढी छ । यसलाई परिमार्जन गर्नुपर्छ । नत्र टेलिकम उद्योग सस्टेन हँदैन्,’ उनले भने, ‘टेलिकम क्षेत्र विकासबाट नभइ करबाट निर्देशित छ । यसमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।’

टेलिकम क्षेत्रमा विद्यमान रहेको कर नीतिलाई हटाउन र कानुनलाई समय अनुकुल बनाउन प्राधिकरणले २७ वर्ष पूरानो दूरसञ्चार ऐनलाई परिमार्जन गर्ने गरी काम अगाडि बढाएको छ ।   

एउटै सेवा तर गुणस्तर फरक भएको बताउँदै सेवाको गणस्तरीयका लागि अब नियामक कडा रूपमा प्रस्तुतु हुने जानकारी समेत दिएका छन् ।

यस बाहेक प्राधिकरणले पुरै नेपालको नेटवर्क ग्याप एनालाइसिस गर्ने तयारी समेत गरेको छ । यसबाट नेटवर्क नभएको ग्रामीण क्षेत्रमा दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर नेटवर्क पुर्‍याउने प्राधिकरणको योजना छ । 

त्यस्तै प्राधिकरण पूर्वाधार शेयरिङ कानुनलाई पनि परिमार्जन गर्ने गरी अगाडि बढेको छ । ठूला र साना पूर्वाधार बनाउनका लागि प्राधिकरणले कानुन परिमार्जन गर्न लागेको हो । अहिलेसम्म ‘फोर्स’ पूर्वाधार शेयरिङ नभएको बताउँदै अब नियामक त्यतातिर पनि जान सक्ने संकेत भण्डारीले दिएका छन् । 

साथै गतवर्ष मनसुनको समयमा नेटवर्क नहुँदा ठूलो समस्या भएको बताउँदै यस वर्ष त्यस्तो हुन नदिन उनले सेवा प्रदायकसँग आग्रह गरेका छन् ।