त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा पूर्णरूपमा अनलाइनबाट उपलब्ध गराउने भएको छ ।
विद्यार्थीका लागि अनलाइन सेवा प्रणालीलाई विस्तार गर्दै परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा पूर्णरूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने जानकारी दिएको हो ।
यससँगै अब अनलाइन माध्यमबाट त्रिवि रजिष्ट्रेशन आवेदन फाराम, परीक्षा आवेदन फाराम, ट्रान्सक्रिप्ट आवेदन फाराम, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योगका लागि आवेदन फाराम, शैक्षिक कागजात सच्याउने फाराम, सिफारिस पत्र, प्रमाणीकरण तथा प्रमाणपत्रका प्रतिलिपि आवेदन दिन सकिने छ ।
असार १५ गतेदेखि यी सेवा त्रिविको वेबसाइटबाट लगइन गरी सजिलै प्राप्त गर्न सकिने छ । त्रिविले २०७५ देखि नै दीक्षान्त फाराम तथा रजिष्ट्रेसन र बीए/बीएडको ट्रान्सक्रिप्टलाई अनलाइनबाट उपलब्ध गराउँदै आएको थियो । २०७९ माघ १५ देखि अनलाइन आवेदन फाराम सुरु गरिएको भए पनि प्राविधिक कारण केही समय बन्द भएको थियो ।
२०८२ वैशाख २ देखि परीक्षा नियन्त्रण कार्यालयको वेवसाइटबाट लगइन गरी ट्रान्सक्रिप्ट आवेदन फाराम अनलाइन माध्यमबाट भर्ने/भराउने प्रक्रिया, अनलाइन भुक्तानी सहितका सेवाहरु सफलतापूर्वक परीक्षण समेत भइसकेकोले असार १५ गतेदेखि १० सेवाहरू पूर्ण रूपमा अनलाइनबाटै उपलब्ध हुनेछन् ।