कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन

यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन

आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । 

अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन छनौट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।

आफुलाई मन परेको उत्कष्ट ५ राइजिङ स्टार इन्नोभेसन मध्येबाट एउटालाई डिजिटल वालेट हाम्रो पेमा गएर भोटिङ गर्न सकिने छ । भोटिङ आगामी मंसिर २४ गते राति १२ बजेसम्म गर्न सकिने छ ।

राइजिङ स्टटार इन्नोभेसन आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो । स्कुल तथा कलेजमा पढ्दै गरेका विद्यार्थीले बनाएका परियोजनालाई प्रोत्साहन र प्रवर्द्धन गर्न राइजिङ स्टार इन्नोभेसन अवार्ड प्रदान गरिन्छ ।

यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन 

स्केलिङ स्मार्टर

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत २७ वर्षीय आतिज घिमिरेले सुरू गरेको परियोजना हो, स्केलिङ स्मार्टर । 

यसको मुख्य पहलको रूपमा नेपाली जीपीटी रहेको छ, जसको उद्देश्य नेपाली भाषमै कुराकानी गर्न सक्ने एआई मोडेल विकास गर्नु रहेको छ । 

आगामी ३ देखि ५ वर्षमा नेपाली जीपीटीलाई च्याटबटदेखि OCR, मल्टिमोडल असिस्टेन्ट, e-governance र शिक्षासम्म विस्तार गर्ने लक्ष्य लिइएको छ । 

कानुन एआई

काठमाडौं मोडल कलेजका २० वर्षीय अर्जुन पौडेल, सफ्टवेरिका कलेजका १९ वर्षीय राजेश थापा र नेपाल इन्जिनियरिङ कलेजका २२ वर्षीय सुलभ तिमल्सिनाले सुरू गरेको एआईमा आधारित लिगलटेक प्लेटफर्म हो, कानुन एआई।

सबैमा न्यायको पहुँच पुर्‍याउने उद्देश्यसहित विकसित यो प्लेटफर्मले कानुनी जानकारी सरल रूपमा प्रदान गर्ने, कागजातको मसौदा तयार गर्ने र वकिलहरूको अनुसन्धान प्रक्रियालाई सहज बनाउने काम गर्छ।

माइन्डब्रिज

माइन्डब्रिज पूर्वाञ्चल क्याम्पसका २२ वर्षीय दिपेश आचार्य, २१ वर्षीय कृतम भट्टराई र २१ वर्षीय कुशल अधिकारीले विकास गरेको प्लेटफर्म हो।

डिस्लेक्सिया भएका बालबालिकाले माइन्डब्रिजमार्फत आवाज सुन्दै पढ्न, रंगको सहायताले अक्षर छुट्याउन, AR बाट शब्दहरू 3D मा हेर्न र खेलमा आधारित सिकाइमार्फत सहज रूपमा सिक्न सक्छन्। 

यसले पढाइका क्रममा बच्चा तनावग्रस्त, निराश वा थाकेको देखिएमा शिक्षक वा अभिभावकलाई तुरुन्तै सूचित पनि गर्छ।

स्पीनोभेट

​​​​​​​काठमाडौं विश्वविद्यालयका विद्यार्थी २२ वर्षिय आयुष पोखरेल, २१ वर्षिय आवाश लमिछाने, दिवास पराजुली र २३ वर्षिय सन्तोष यादवले विकास गरेको प्लेटफर्म हो, स्पिनोभेट । 

यसले वेबक्याम्पबाट मेरुदण्डका विभिन्न भागका एंगल नापेर पोस्चर कैयौँ कोणबाट विश्लेषण गर्छ। कुन भागमा समस्या छ, कति समय सही पोस्चर कायम रह्यो—यी सबै कुरा रियल टाइममा देखाउँछ। यसले आँखाको स्वास्थ्य पनि ट्र्याक गर्छ । 

आगामी दिनमा यसलाई हेल्थ असिस्टेन्टका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । 

भक्स भिजन

​​​​​​​भक्सभिजन रातो बंगला स्कूलका कक्षा १२ का १७ वर्षीय लाराक याकथुम्बा र शालिन अधिकारीले विकास गरेको प्लेटफर्म हो।

दृष्टिविहीन व्यक्तिका लागि तयार गरिएको यस प्रणालीमा क्यामेरासहितको चश्मा जोडिएको छ। प्रयोगकर्ताले “अगाडि के छ?” भनेर सोध्दा, क्यामेराले वस्तु पहिचान गरी आवाजमा जानकारी दिन्छ। साथै, अगाडि अवरोध छ वा छैन त्यसको पनि रियल-टाइममा जानकारी दिने गर्छ ।