हुवावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर २०२५ कार्यक्रममा नेपालबाट चीनमा आयोजना हुने क्षेत्रीय प्रतिस्पर्धामा सहभागी हुन शीर्ष पाँच विद्यार्थीहरूको घोषणा गरेको छ।
शीर्ष ५ स्थानमा रहन सफल विद्यार्थीहरूमा आदर्श श्रेष्ठ, अपला तिमिल्सिना, दिनानाथ पाध्य, मंजिला पाण्डे र स्तुति ढुंगाना रहेका छन् । क्षेत्रीय कार्यक्रम आगामी अगस्ट २०२५ चीनमा आयोजना हुनेछ।
यस वर्षको संस्करणमा नेपालभरका विश्वविद्यालयहरूबाट ६५० भन्दा बढी होनहार विद्यार्थीहरूको आवेदन प्राप्त भएको थियो। प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि ३० जना विद्यार्थीहरूलाई छोटो सूचीमा राखी विभिन्न प्राविधिक तालिम, कार्यशाला, र सांस्कृतिक आदानप्रदान कार्यक्रमहरूमा सहभागी गराइएको थियो, जसको उद्देश्य भावी आइसिटी नेताहरू तयार पार्नु हो।
कार्यक्रमको एक भागको रूपमा, विद्यार्थीहरूले काठमाडौंस्थित अत्याधुनिक डेटा सेन्टर भ्रमण गरी ठूलो स्तरको डिजिटल पूर्वाधार कसरी सञ्चालन हुन्छ भन्ने अनुभव प्राप्त गरे। साथै, युनेस्को नेपालद्वारा युएन हाउसमा आयोजित 'बहुभाषिकता र सांस्कृतिक विविधताका लागि प्रविधिको उपयोग' शीर्षकको कार्यशालामा विद्यार्थीहरूले संवाद, समावेशिता र प्रविधि सम्बन्धी विषयमा सहभागी भएर अनुभव साटासाट गरेका थिए।
साथै, विद्यार्थीहरूले चीन सांस्कृतिक केन्द्र भ्रमण गरेर चिनियाँ सांस्कृतिक सम्पदा र शिक्षा–नवप्रवर्तनमा अन्तरदेशीय सहकार्यबारे अध्ययन गरेका थिए । तालिम अवधिमा विद्यार्थीहरूले ५जी, कृत्रिम बुद्धिमत्ता (AI), क्लाउड कम्प्युटिङ र क्लिन इनर्जी जस्ता डिजिटल प्रविधिको आधारभूत जानकारी लिएर विश्व डिजिटल अर्थतन्त्रको लागि तयार हुने मौका पाए।
अन्तिम चरणको अन्तर्वार्ता २०२५ जुन २५ मा सम्पन्न भएको थियो। । छोटो सूचीमा परेका विद्यार्थीहरूलाई उनीहरूको CV, सञ्चार क्षमता, प्राविधिक ज्ञान, सिर्जनात्मक सोच, विश्व जागरुकता, दिगो विकास लक्ष्य (SDG) सँग मेल, नेतृत्व क्षमता, र व्यक्तिगत प्रेरणाको आधारमा मूल्याङ्कन गरिएको थियो।
अन्तिम मूल्याङ्कनका लागि गठित निर्णायक मण्डलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को, नेपाल टेलिकम, र हुवावे नेपालका विज्ञहरू सम्मिलित थिए।
अन्तिम चरणमा सहभागी विद्यार्थीहरूले स्थानीय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँगको नेटवर्किङ, परामर्श, व्यावसायिक अनुभव, र चीनको डिजिटल इकोसिस्टमको अनुभव प्राप्त गर्नेछन् । उनीहरूले ICT तथा उच्च प्रविधिमा संलग्न अग्रणी कम्पनीहरूको भ्रमण, एशिया प्यासिफिकका अन्य विद्यार्थीहरूसँग सहकार्य गर्दै प्रविधिमा आधारित समाधानको विकास, तथा प्रविधिको भविष्य निर्माण गरिरहेका उद्योग नेताहरूसँग अन्तरक्रिया गर्ने अवसर प्राप्त गर्नेछन्।