कीवर्डहरू -

दुई नेपाली विद्यार्थीको स्टार्टअप लामिना ल्याब्स वाइ कम्बिनेटरमा छनोट, ५ लाख डलर लगानी पाउने

दुई नेपाली विद्यार्थीको स्टार्टअप लामिना ल्याब्स वाइ कम्बिनेटरमा छनोट, ५ लाख डलर लगानी पाउने

अमेरिकामा अध्ययनरत दुई नेपाली विद्यार्थीले स्थापना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) र उन्नत प्रविधिमा आधारित स्टार्टअप लामिना ल्याब्स (Lamina Labs) विश्वप्रसिद्ध स्टार्टअप एक्सेलेरेटर वाइ कम्बिनेटर (Y Combinator) मा छनोट भएको छ।

स्टार्टअपका संस्थापक सुदीप रोकाया र रोहन भट्टराई ले सञ्चालन गर्दै आएको कम्पनीले वाइ कम्बिनेटरको सन् २०२६ सिजन का लागि छनोट भएपछि ५ लाख अमेरिकी डलर बराबरको लगानी प्राप्त गर्ने भएको हो। उक्त लगानी इक्विटी र SAFE (Simple Agreement for Future Equity) मोडेलमार्फत उपलब्ध गराइने जनाइएको छ।

सुदीप रोकाया हाल म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) मा कम्प्युटर साइन्स अध्ययनरत छन् भने रोहन भट्टराई क्यालटेक (Caltech) मा इलेक्ट्रिकल इन्जिनियरिङ तथा कम्प्युटिङ विषय अध्ययन गरिरहेका छन्। उनीहरूले सन् २०२४ देखि लामिना ल्याब्स सञ्चालनमा ल्याएको जनाइएको छ।

वाइ कम्बिनेटरमा छनोट हुनु स्टार्टअप जगतमा अत्यन्त प्रतिस्पर्धात्मक उपलब्धि मानिन्छ। विश्वभरबाट हजारौं आवेदन पर्ने भए पनि सीमित स्टार्टअप मात्र हरेक सिजनमा चयन हुने गर्छन्। त्यसैले लामिना ल्याब्सको छनोटलाई नेपाली युवाको लागि उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।

वाइ कम्बिनेटर सन् २००५ देखि प्रारम्भिक चरणका स्टार्टअपहरूलाई लगानी, मार्गदर्शन र अन्तर्राष्ट्रिय बजारमा पहुँच दिलाउँदै आएको अमेरिका-आधारित स्टार्टअप एक्सेलेरेटर हो। यसले वर्षमा दुईपटक स्टार्टअप छनोट गरी छोटो अवधिको कार्यक्रममा सहभागी गराउने र व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने गर्छ।