सरकारले ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट’ का लागि एशियाली विकास बैंक र विश्व बैंकबाट प्राप्त हुने क्रमशः ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले उक्त ऋण सहायता स्वीकार गर्ने स्वीकृति प्रदान गरेको हो। यो ऋण अत्यन्तै सहुलियतपूर्ण सर्तमा उपलब्ध हुनेछ, जसमा ३२ वर्षको ऋण अवधि रहने छ।
परियोजनाको कार्यान्वयन नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछ। उक्त परियोजनाअन्तर्गत डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, साइबर सुरक्षा, ई-गभर्नेन्स, तथा सामाजिक सुरक्षा लगायतका क्षेत्रमा सुधार र विस्तार गरिने छ।
विश्व बैंकको अन्तर्राष्ट्रिय विकास सङ्गठनबाट ५० मिलियन डलर र एशियाली विकास बैंकबाट ४० मिलियन डलर ऋण उपलब्ध हुनेछ। यो परियोजनाले नेपालको डिजिटल रूपान्तरणलाई तीव्रता दिई सेवा प्रवाहमा पारदर्शिता, प्रभावकारिता र पहुँच अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
आईसीटी समाचार