कीवर्डहरू -

वाइफाइ ६ प्रविधिसहित भायानेटको नयाँ योजना, ६०० एमबीपीएससम्म गति उपलब्ध

वाइफाइ ६ प्रविधिसहित भायानेटको नयाँ योजना, ६०० एमबीपीएससम्म गति उपलब्ध

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्याको समाधान गर्न ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । 

प्रयोगकर्तालाई उच्च गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

डिजिटल प्रयोग बढ्दै जाँदा घरभित्र धेरै उपकरण एकैसाथ सञ्चालन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै यो प्रविधि डिजाइन गरिएको हो । पुरानो प्रविधिको तुलनामा चार गुणासम्म बढी कार्यक्षमता दिने भएकाले यसले लेटेन्सी न्यून बनाउने कम्पनीको दाबी छ । यसले गर्दा एउटै समयमा घरका विभिन्न सदस्यले भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ र कार्यालयको काम गर्दा पनि समस्या नआउने जनाइएको छ ।

कम्पनीले २५० एमबीपीएस देखि ६०० एमबीपीएस सम्मका उच्च गतिको ‘वाइफाइ ६’ प्याकेज उपलब्ध गराएको छ । २५० एमबीपीएस गतिको वार्षिक योजना रु १३,८०० (भ्याटसहित) मा उपलब्ध हुने बताइएको छ । यस योजनाअन्तर्गत वार्षिक सदस्यता लिने ग्राहकलाई थप एक महिनाको इन्टरनेट सेवा निःशुल्क प्रदान गरिनेछ ।

घरभर समान रूपमा इन्टरनेट सिग्नल पुर्‍याउन कम्पनीले रु ३,५०० (भ्याटसहित) मा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि उपलब्ध गराएको छ । साधारण राउटरले बाक्ला भित्तावाला वा ठूलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल नपुर्‍याउने समस्यालाई मेस प्रणालीले समाधान गर्ने विश्वास कम्पनीको छ ।

पुराना ग्राहकका लागि कम्पनीले अपग्रेड प्रक्रिया पनि सहज बनाएको छ । विद्यमान प्रयोगकर्ताले रु ५०० शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा परिवर्तन गर्न सक्नेछन् ।