आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीको संयुक्त पहलमा लुम्बिनी प्रदेशमा ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ हुने भएको छ।
राष्ट्रिय स्तरको यो संवाद श्रृंखला सातै प्रदेशमा सञ्चालन हुने आयोजकले जनाएको छ, जसको सुरुवात लुम्बिनी प्रदेशबाट हुन लागेको हो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका उम्मेदवार सहभागी हुनेछन्, जहाँ नागरिक तथा युवाहरूले उनीहरूको विचार, नीति तथा डिजिटल एजेन्डा प्रत्यक्ष रूपमा सुन्न र संवाद गर्न पाउनेछन्।
संवादमा डिजिटल रूपान्तरण, ई–गभर्नेन्स, पारदर्शिता, युवा रोजगारी, स्टार्टअप तथा कृषि लगायत विषयमा छलफल केन्द्रित रहनेछ। लुम्बिनी प्रदेशका लागि भर्चुअल संवाद फागुन ६ गते साँझ ५:३० बजेदेखि जूममार्फत आयोजना हुनेछ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना घोषणापत्रमा समेटेका सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सम्बन्धी एजेन्डा, विद्यमान चुनौती र सम्भावित प्रभावबारे समेत बहस हुनेछ।
कार्यक्रममा राजनीतिक नेतृत्व र उम्मेदवारसँगै युवा, नागरिक समाज, सञ्चारमाध्यम, महिला, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहनेछ। भर्चुअल संवादमार्फत निर्वाचन प्रक्रियामा नागरिकको सक्रिय सहभागिता, समावेशिता र पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा क्यान महासंघ बाँके र आहा नेपाल सहयोगी साझेदारका रूपमा रहेका छन्। सीमित सिट भएकाले इच्छुकले यहाँ क्लिक गरी आफ्नो सहभागिता सुनिश्चित गर्न सक्नेछन्।
आईसीटी समाचार