नेपाली स्मार्टफोन बजारमा चिनियाँ ब्राण्ड भिभोले आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई०५ सार्वजनिक गरेको छ। काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यस फोनले विशेष गरी ब्याट्री क्षमता र टिकाउपनमा नयाँ मानक स्थापित गर्ने दाबी गरिएको छ।
किफायती मूल्यमा शक्तिशाली फिचर खोज्ने प्रयोगकर्ताहरूलाई लक्षित गर्दै भिभोले यस पटक ब्याट्री प्रविधिमा ठुलो फड्को मारेको छ। यस स्मार्टफोनको सबैभन्दा बलियो पक्ष यसको ६५०० एमएएच क्षमताको 'ब्लुभोल्ट' ब्याट्री हो। सामान्यतया बजेट फोनहरूमा ५००० एमएएच सम्मको ब्याट्री पाइने भए पनि भिभोले यसमा उच्च क्षमताको ब्याट्री जडान गरेको छ।
कम्पनीका अनुसार यो ब्याट्री ५ वर्षसम्म पूर्ण रूपमा स्वस्थ रहने गरी डिजाइन गरिएको छ, जसले गर्दा प्रयोगकर्ताले लामो समयसम्म ब्याट्री फेर्नुपर्ने वा कार्यक्षमता घट्ने चिन्ता लिनुपर्ने छैन। दिनभर गेम खेल्ने, भिडियो हेर्ने वा सामाजिक सञ्जालमा सक्रिय रहनेहरूका लागि यो ब्याट्री निकै उपयोगी हुने देखिएको छ।
फोनको सुरक्षा र टिकाउपनका लागि यसमा आईपी ६५ रेटिङ दिइएको छ, जसले धुलो र पानीका छिटाहरूबाट डिभाइसलाई जोगाउँछ। साथै, अचानक हातबाट खस्दा हुन सक्ने भौतिक क्षति कम गर्न यसमा 'प्रोफेसनल एन्टी-ड्रप' डिजाइन प्रयोग गरिएको छ।
डिस्प्लेको कुरा गर्दा यसमा १२० हर्जको रिफ्रेस रेटसहितको स्मूथ स्क्रिन छ, जसले चलाउँदा निकै सहज अनुभव दिन्छ। चर्को घाममा पनि स्क्रिन स्पष्ट देखियोस् भन्नका लागि यसमा १२०० निट्सको पिक ब्राइटनेस राखिएको छ भने अडियो अनुभवलाई सशक्त बनाउन २०० प्रतिशतसम्म भोल्युम बढाउन मिल्ने 'बूस्ट' फिचर थपिएको छ।
भिभो वाई०५ नेपाली बजारमा दुई वटा भेरियन्टमा उपलब्ध हुनेछ। ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको मोडलको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य १९ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ। यो फोन आगामी मार्च २५, २०२६ देखि देशभरका आधिकारिक रिटेल स्टोरहरू र अनलाइन सपिङ पोर्टल दाराजमार्फत खरिद गर्न सकिनेछ।
ओरिजिन ओएस ६ मा आधारित यो फोनले सस्तो मूल्यमा प्रिमियम अनुभव खोज्ने नेपाली ग्राहकको मन जित्ने अपेक्षा गरिएको छ।
आईसीटी समाचार