कीवर्डहरू -

वेबसाइट Vs पोर्टल: वेबसाइट र वेब पोर्टलमा के फरक छ?

वेबसाइट Vs पोर्टल: वेबसाइट र वेब पोर्टलमा के फरक छ?

आजको डिजिटल युगमा हामी प्रायः वेबसाइट र वेब पोर्टल जस्ता शब्दहरू प्रयोग गर्छौं, तर के तपाईंले कहिल्यै यी दुईमा के फरक हुन्छ भनेर सोच्नुभएको छ ?

अधिकांश मानिसले यी दुवैलाई एउटै ठान्छन्, तर प्रविधिको दृष्टिले यी दुई पूर्ण रूपमा फरक प्लेटफर्म हुन्। तिनीहरूको उद्देश्य, सुविधाहरू र प्रयोगकर्ता अन्तरक्रियाका तरिका फरक–फरक हुन्छन्।

वेबसाइट इन्टरनेटमा अवस्थित स्थायी डिजिटल ठेगाना हो, जहाँ एक वा एकभन्दा बढी वेब पेजहरू हुन्छन्। यसलाई कुनै पनि व्यक्ति साधारण यूआरएल(जस्तै www.google.com) मार्फत पहुँच गर्न सक्छ। मुख्य उद्देश्य जानकारी प्रदान गर्नु, ब्राण्ड प्रमोशन गर्नु वा सामग्री प्रदर्शन गर्नु हो ।

उदाहरणका लागि समाचार साइटहरू (ictsamachar.com वा news.google.com), ब्लग वा सरकारी वेबसाइटहरू आदि। वेबसाइट पहुँच गर्नका लागि लगइन आवश्यक हुँदैन र सबै प्रयोगकर्तालाई एउटै सामग्री देखिन्छ। यसको अन्तरक्रिया सीमित हुन्छ: जस्तै पढ्नु, लिङ्कमा क्लिक गर्नु वा फाराम भर्नु।

वेब पोर्टल के हो?

वेब पोर्टल पनि एउटा विशेष प्रकारको वेबसाइट हो, जुन प्रयोगकर्ता-केंद्रित बनाइएको हुन्छ। यस प्लेटफर्ममा पहुँच गर्न लगइन अनिवार्य हुन्छ र प्रत्येक प्रयोगकर्तालाई व्यक्तिगत जानकारी वा सेवाहरू देखाइन्छ।

मुख्य उद्देश्य प्रयोगकर्तालाई अनुकूलित जानकारी, सेवा वा उपकरणहरू प्रदान गर्नु हो। उदाहरणका लागि विद्यार्थी पोर्टल (रिजल्ट, टाइमटेबल), नेट बैंकिङ पोर्टल, कर्मचारी पोर्टल (पे–स्लिप, छुट्टी व्यवस्थापन) आदि।

लगइनबिना पोर्टल पहुँच गर्न सकिँदैन। एउटै पोर्टलमा प्रत्येक प्रयोगकर्ताले फरक–फरक सामग्री र सेवाहरू पाउँछन्। पोर्टलमा प्रयोगकर्ताले डेटा अपलोड, डाउनलोड, अन्तरक्रिया र कस्टम टूल्स प्रयोग गर्न सक्छ।

वेबसाइट र पोर्टल बीच कसरी छुट्याउने?

  • यदि तपाईं कुनै साइटमा मात्र जानकारी पढ्दै हुनुहुन्छ र लगइन आवश्यक छैन भने त्यो वेबसाइट हो।

  • यदि तपाईं लगइन गरेर आफ्नो व्यक्तिगत विवरण भर्दै वा सेवा लिंदै हुनुहुन्छ भने त्यो वेब पोर्टल हो।