कीवर्डहरू -

जेनजी माझ लोकप्रिय सामाजिक सञ्जाल डिस्कोर्ड के हो ?

जेनजी माझ लोकप्रिय सामाजिक सञ्जाल डिस्कोर्ड के हो ?

डिस्कोर्ड अहिले नेपाली जेनजीहरू माझ लोकप्रिय छ । जेनजी अर्थात युवाहरूको विचार व्यक्त र सूचना आदान प्रदान गर्ने बलियो माध्यम बनेको छ, डिस्कोड । 

सुरूमा विशेष गरी गेम खेल्नेहरूका लागि बनाइएको भएपनि अहिले डिस्कोर्ड पढाइ गर्ने, होमवर्क सँगै गर्ने, क्लब मिटिङ राख्ने, कराओके गाउने, वा साथीहरूसँग सामान्य गफगाफ गर्ने प्लेटफर्मका रूपमा धेरै लोकप्रिय छ।

डिस्कोर्ड एउटा सामाजिक सञ्जाल हो, जसले प्रयोगकर्तालाई टेक्स्ट, भ्वाइस (कुराकानी), भिडियो च्याट, र स्क्रिन शेयर गर्न दिने गर्छ।

आजको दिनमा मासिक २० करोडभन्दा बढी मानिसहरू डिस्कोर्ड प्रयोग गर्छन्, जसमा धेरैजसो किशोर–किशोरी र युवा पर्छन् ।

सन् २०१५ मा स्टानिस्लाभ भिश्नेभ्स्की (Stanislav Vishnevskiy) र जेसन सिट्रोन (Jason Citron) ले डिस्कोर्ड सार्वजनिक गरेका थिए । 

डिस्कोर्ड अन्य सामाजिक सञ्जालभन्दा कसरी फरक छ ?

डिस्कोर्डमा सामान्य विज्ञापन हुँदैन। यसको सट्टामा ‘Quests’ भनिने सुविधा हुन्छ, जसमा प्रयोगकर्ताले कुनै खेल खेल्दा वा भिडियो हेर्दा इन-गेम उपहार (जस्तै– भर्चुअल पैसा) पाउँछन्।

साथै यसमा सब्सक्रिप्सन सुविधा पनि छ । डिस्कोर्डका सबै सुविधा मज्जाले उपयोग गर्न सब्सक्रिप्सन खरिद गर्नुपर्ने हुन्छ । सर्भर बुस्टिङका लागि पैसा तिर्नुपर्ने हुन्छ । डिस्कोर्डको सर्भर के हो ? भनेर हामीले एक्कैछिनमा भन्ने छौं ।

अरू सामाजिक सञ्जालजस्तै डिस्कोर्डले पनि प्रयोगकर्ताको डाटा संकलन गर्ने गर्छ, जुन उनीहरूको प्राइभेसी पोलिसीमा उल्लेख गरिएको हुन्छ।

डिस्कोर्डमा न्युज फिड हुँदैन। प्रयोगकर्ताले Server (समुदाय) वा Private Space मा मात्र कुराकानी गर्छन्। डिस्कोर्डलाई डेस्कटप कम्प्युटर, ब्राउजर वा मोबाइल एपमार्फत पहुँच गर्न सकिन्छ। प्रयोगकर्ताहरूले आफ्नै च्याटरुम सेटअप गर्न वा अरूमा सहभागी हुन सक्छन्, जसलाई डिस्कोर्डले ‘सर्भर’ भन्छ ।

यहाँ समूह वा समुदाय मिलेर बनाइएको ठाउँलाई सर्भर भनिन्छ । यो पब्लिक (सबैले प्रवेश गर्न सक्ने) वा प्राइभेट (केवल निम्तोमा मात्र) हुन सक्छ।

सर्भरभित्र छुट्टाछुट्टै विषयमा कुरा गर्ने स्थानको रूपमा डिस्कोर्डमा च्यानल पनि बनाउन मिल्छ । यो धेरै व्यक्तिगत तरिकाले प्रयोग गर्न मिल्ने प्लेटफर्म हो । 

एउटा सर्भरमा अधिकतम ५ लाख सदस्य हुन सक्छन् । तर, यदि एउटै समयमा २५ हजार भन्दा बढी प्रयोगकर्ताहरू अनलाइन भएमा जडान समस्या आउन सक्ने भएकाले थप स्थान (server space) पाउनका लागि सर्भर मालिकले डिस्कोर्ड सपोर्टलाई सम्पर्क गर्नुपर्छ। एक सर्भरमा अधिकतम ५० वटा श्रेणी र ५०० वटा च्यानल बनाउन सकिन्छ।