काठमाडौं । मेटाको स्वामित्वमा रहेको मेसेजिङ एप व्हाट्सएपले एन्ड्रोइड एपको तल्लो नेभिगेसन बारमा नयाँ डिजाइन परीक्षण गरिरहेको छ । WABetaInfo का अनुसार यो नयाँ डिजाइन हाल व्हाट्सएपको बेटा एन्ड्रोइड संस्करणमा परीक्षण भइरहेको हो । उक्त बेटा संस्करण गुगल प्ले स्टोरमार्फत उपलब्ध छ ।
नयाँ डिजाइनमा तल्लो मेनु बारलाई मुख्य स्क्रिनबाट केही अलग देखिने गरी तयार गरिएको छ । यसमा मेनु बार स्क्रिनको तल्लो भागमा मिसिएको जस्तो देखिनुको सट्टा गोलाकार किनारासहित तैरिएको शैलीमा देखिनेछ ।
यो परिवर्तन उज्यालो र गाढा दुवै मोडमा देखिने बताइएको छ । यद्यपि, उज्यालो मोडमा नयाँ डिजाइन अझ स्पष्ट रूपमा देखिनेछ । नयाँ डिजाइन आईओएसमा हालै देखिएको शैलीबाट प्रभावित भएको देखिए पनि एन्ड्रोइड संस्करणमा आईफोनको जस्तै पारदर्शी प्रभाव नआउन सक्ने बताइएको छ ।
एन्ड्रोइड र आईओएसका डिजाइनसम्बन्धी फरक मापदण्डका कारण दुवै प्लेटफर्ममा यसको प्रस्तुति फरक हुन सक्ने जनाइएको छ । WABetaInfo का अनुसार एन्ड्रोइड प्रयोगकर्ताको प्रतिक्रियालाई ध्यानमा राख्दै व्हाट्सएपले नयाँ डिजाइनमा काम गरिरहेको हुन सक्छ ।
प्रयोगकर्ताहरूले एपलाई थप आधुनिक र नयाँ लुक दिन माग गर्दै आएका थिए । नयाँ नेभिगेसन बार हाल विकासकै क्रममा रहेको छ र अहिले बेटा प्रयोगकर्ताका लागि समेत उपलब्ध छैन । प्रारम्भिक चरणमा सीमित प्रयोगकर्तामाझ परीक्षण गरेपछि मात्रै यो सुविधा थप प्रयोगकर्ताका लागि उपलब्ध गराइने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार