आज हामी जसरी स्मार्टफोन प्रयोग गर्छौं, त्यसमा धेरै स-साना डिजाइन विवरणहरू लुकेका हुन्छन्। तीमध्ये एउटै हो पावर बटनको स्थान। चाहे तपाईं एप्पल, सामसुङ, शाओमी वा वनप्लसको फोन उठाउनुहोस्, धेरैजसोमा पावर बटन दायाँतर्फ नै पाइन्छ। तर के तपाईंले कहिल्यै सोचेको होला कि पावर बटन सधैं फोनको दायाँतर्फ किन हुन्छ?
स्मार्टफोनको सुरुवाती चरणमा बटनको ठाउँ पक्का भएको थिएन। कतिपय फोनमा पावर बटन माथि हुन्थ्यो भने केहीमा पछाडि। उदाहरणका लागि पुरानो एलजी जी२ जस्ता फोनहरूमा पावर बटन पछाडि दिइएको थियो। तर समयसँगै कम्पनीहरूले प्रयोगकर्ताका लागि सबैभन्दा सहज स्थान कुन हो भनी बुझ्न थाले।
यद्यपि, फोनमा पावर बटनको मुख्य कारण हाम्रो दायाँ हातको बढी प्रयोग हो। विश्वमा धेरै मानिसहरूले फोन समाउँदा आफ्नो बाँया हात प्रयोग गर्छन् र यो पूर्ण रूपमा एउटा प्राकृतिक बानी हो। जब तपाईं फोनलाई हातमा समाउनुहुन्छ, तब औंलाले स्वाभाविक रूपमा दायाँतर्फ पुग्छ। त्यसैले पावर बटन त्यहीँ भएमा स्क्रिन लक वा अनलक गर्न अत्यन्तै सहज हुन्छ।
अर्को रोचक कारण फोनको भित्री डिजाइन हो। स्मार्टफोनको भित्र ब्याट्री, मदरबोर्ड, क्यामेरा र एन्टेना जस्ता थुप्रै कम्पोनेन्टहरूलाई फिट गर्नुपर्छ। इन्जिनियरिङको हिसाबले साइड फ्रेममा दायाँतर्फ बटन राख्दा कहिलेकाहीँ भित्रका कम्पोनेन्टहरूलाई व्यवस्थित गर्न सजिलो हुन्छ।
के स्थान कहिल्यै बदलिन सक्छ?
प्रविधि निरन्तर परिवर्तनमा छ। आज धेरै फोनहरूमा इन-डिस्प्ले फिङ्गरप्रिन्ट र फेस अनलक जस्ता सुविधाहरू आइसकेका छन्। यस्ता प्राविधिक विकासका कारण भविष्यमा पावर बटनको स्थान बदलिन सक्छ वा संभवत: एकदिन त्यो बटन पूर्ण रूपमा हटिसक्ने सम्भावना पनि छ।
तर हालका लागि, जबपनि तपाईं आफ्नो स्मार्टफोन हातमा उठाउनुहुन्छ, दायाँतर्फ रहेको सानो पावर बटनले हामीलाई सम्झाउँछ कि प्राविधिमा हरेक डिजाइनको पछाडि कुनै न कुनै विचार अवश्य हुन्छ।
आईसीटी समाचार