सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) को आयोजनामा अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवस २०२५ को अवसरमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । केटीहरूलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा संलग्न हुन प्रेरित गर्ने उद्देश्यसहित प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो ।
सो कार्यक्रम हरिसिद्धि माध्यमिक विद्यालय ललितपुरबाट बिहान ६ः३० बजे सुरु भएको थियो । धिमे बाजा, रङ्गीन प्लेकार्ड, तथा नारासहितसहित हरिसिद्धिको ऐतिहासिक पूरानो शहर क्षेत्रमा ६ विद्यालयका २५० बढी छात्राहरूको सहभागीतामा प्रभावफेरि कार्यक्रम भएको थियो ।
गर्ल्स इन आईसीटी: ब्रिजिङ अल डिभाइड्स फर इन्क्लुसिभ डिजिटल ट्रान्स्फरमेसन विषयमा विभिन्न नारासहितका प्लेकार्ड प्रस्तुत गरिएको थियो । नारासहितका प्लेकार्ड छात्रहरू तयार गरेका थिए । उत्कृष्ट नारासहितको प्लेटकार्ड बनाउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
प्रतियोगिताको पहिलो स्थान विश्व विद्या मन्दिर, दोस्रो स्थानमा पिपुल्स सेकन्डरी स्कूल र तेस्रो स्थानमा हरिसिद्धि माध्यमिक विद्यालयले पाउन सफल भएका हुन् ।
यस कार्यक्रमले किशोरीहरूमा डिजिटल दक्षता र प्रविधिप्रतिको रुचि अभिवृद्धि गर्ने विश्चास गरिएको छ । कार्यक्रममा डब्लुआईआईटी संस्थाकी कार्यकारी सदस्य पल्पसा तुलाधर कंसाकारले डिजिटल साक्षरता, साइबर सुरक्षा, कोडिङ, र डिजिटल मार्केटिङ जस्ता विभिन्न विषयमा डब्लुआईआईटीद्वारा देशभर सञ्चालन गरिँदै आएका कार्यक्रमबारे जानकारी दिएकी थिइन् ।
यस्तै नेपाल टेलिकम दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक एवं डब्लुआईआईटीकी कार्यकारी सदस्य रोजा किरण बासुकला, स्मार्ट चेली संस्थाकी अध्यक्ष प्रतीक्षा पाण्डे र नेपाल बैंककी आईटी प्रमुख वन्दना शर्मा लगायतले छात्राहरूलाई प्रविधिमा लाग्ने प्रेरित गरेका थिए ।
हरिसिद्धि माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ग्राफिक डिजाइनिङ कक्षा र डिजिटल सचेतना सम्बन्धी तालिम समेत प्रदान गरिने छ । साथै स्थानीय महिला समूह मिसा पुचसँग सहकार्यमा डिजिटल साक्षरता वर्कशप आयोजना गर्ने प्रतिबद्धता समेत डब्लुआईआईटीले जनाएको छ ।
समापन समारोहमा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, डब्लुआईआईटीकी अध्यक्ष गुणकेशरी प्रधान, र रोटरी क्लब अफ यलका अध्यक्ष धर्मेन्द्र शाक्यको उपस्थिति रहेको थियो । ललितपुर महानगरपालिकाको समर्थनमा तथा रोटरी क्लब अफ यलको सह–आयोजनामा डुब्लुआईआईटीले प्रभातफेरि कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमको समापन मन्तव्य डब्लुआईआईटीकी मिनु प्रधानले दिएकी थिइन् ।
अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवस विश्वव्यापी रूपमा मनाइने दिवस हो । यस वर्ष २४ अप्रिलमा अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवस मनाइँदै छ ।