काठमाडौं । फेसबुकमा जोडिएका सबै साथीसँग सधैं समान सम्बन्ध रहँदैन । समयसँगै कसैका पोस्ट अत्यधिक देखिन थाल्छन्, कसैका विचार मन नपर्न सक्छन्, त कसैसँग व्यक्तिगत सम्बन्ध नै चिसिन सक्छ । तर यस्ता अवस्थामा धेरैले अनफ्रेन्ड वा ब्लक गर्न हिच्किचाउँछन्, किनकि त्यसले सम्बन्धमा थप असहजता ल्याउन सक्छ ।
यस्तो परिस्थितिलाई ध्यानमा राखेर फेसबुकले प्रयोगकर्तालाई सम्बन्ध कायम राख्दै आफ्नो न्युज फिड र गोपनीयता नियन्त्रण गर्न सक्ने विभिन्न सुविधा उपलब्ध गराएको छ ।
साथी हटाउनै नपरी पोस्टबाट छुटकारा
कुनै साथीले छोटो समयमा धेरै पोस्ट गरिरहेको छ भने त्यसलाई केही समयका लागि लुकाउन सकिन्छ । फेसबुकको Snooze फिचर प्रयोग गरेपछि सम्बन्धित व्यक्तिका पोस्ट ३० दिनसम्म तपाईंको न्युज फिडमा देखिँदैनन् । अवधि सकिएपछि भने पोस्ट स्वत: पुन: देखिन थाल्छन् ।
यदि स्थायी रूपमा उसका पोस्ट नहेर्ने निर्णय गर्नुभएको छ भने Unfollow विकल्प उपयुक्त हुन्छ । यसले मित्रता कायम राख्छ, तर उसको गतिविधि तपाईंको फिडबाट हटाइदिन्छ ।
आफ्ना पोस्ट कसलाई देखाउने भन्ने निर्णय आफैं गर्न सकिन्छ
फेसबुकमा सबै साथीलाई आफ्नो व्यक्तिगत जीवन देखाउन आवश्यक हुँदैन । यस्तो अवस्थामा Restricted सूचीमा राखिएका साथीले तपाईंले 'Friends' सेटिङमा राखेका पोस्ट हेर्न सक्दैनन् । उनीहरूले सार्वजनिक पोस्ट वा आफू ट्याग भएका सामाग्री मात्रै देख्न पाउँछन् ।
त्यस्तै, कुनै सम्बन्ध टुटेको वा विवाद भएको अवस्थामा फेसबुकको Take a Break सुविधा अझ उपयोगी मानिन्छ । यसले दुवै पक्षलाई फेसबुकमै साथी रहँदा पनि एकअर्काको गतिविधिबाट दूरी कायम गर्न मद्दत गर्छ ।
मेसेन्जरले दिक्क बनायो ?
कतिपय अवस्थामा समस्या फेसबुक पोस्टभन्दा मेसेन्जरमा आउने लगातारका सन्देश हुन सक्छन् । त्यस्तो अवस्थामा च्याटको नोटिफिकेसन केही समयका लागि वा आफूले फेरि सक्रिय नगरुन्जेलसम्म Mute गर्न सकिन्छ । यसले अर्को व्यक्तिलाई कुनै सूचना पनि जाँदैन ।
सम्बन्ध अन्त्य गर्नै परेमा
यदि कुनै व्यक्तिबाट पूर्ण रूपमा टाढा रहन आवश्यक भयो भने मात्रै Unfriend वा Block गर्ने विकल्प प्रयोग गर्न सकिन्छ । ब्लक गरेपछि सम्बन्धित व्यक्तिले तपाईंको प्रोफाइल भेट्टाउन, सन्देश पठाउन, ट्याग गर्न वा अन्य कुनै माध्यमबाट सम्पर्क गर्न सक्दैन ।
निष्क्रिय साथीहरूको सूची पनि हेर्न सकिन्छ
फेसबुकले पछिल्लो ९० दिनमा सबैभन्दा कम अन्तरक्रिया भएका साथीहरूको सूची पनि उपलब्ध गराउँछ । यसबाट लामो समयदेखि सम्पर्कमा नरहेका वा निष्क्रिय साथीलाई सजिलै हटाउन सकिन्छ ।
डिजिटल छविका लागि पनि आवश्यक छ प्रोफाइल व्यवस्थापन
प्रविधि विज्ञहरूका अनुसार फेसबुक अहिले व्यक्तिगत जीवनसँगै व्यावसायिक पहिचानको पनि माध्यम बनिसकेको छ । त्यसैले समय–समयमा साथीहरूको सूची व्यवस्थापन गर्ने, पुराना अनुपयुक्त पोस्ट हटाउने, अनावश्यक ट्याग हटाउने र प्राइभेसी सेटिङ समीक्षा गर्ने बानीले डिजिटल सुरक्षा र व्यक्तिगत छवि दुवै सुधार्न मद्दत गर्छ ।
फेसबुकका यी सुविधाले सम्बन्ध नबिगारी आफ्नो न्युज फिड, गोपनीयता र सामाजिक सञ्जालको अनुभवलाई आफ्नै आवश्यकताअनुसार व्यवस्थित गर्न सकिने देखाउँछन् ।
आईसीटी समाचार