काठमाडौं । नेटफ्लिक्सले आफ्नो पहिलो पाकिस्तानी विषय वस्तुमा आधारित ओरिजिनल सिरिज ‘जो बचे हैं संग समेट लो’को विश्वव्यापी प्रदर्शन मिति आधिकारिक रूपमा घोषणा गरेको छ । उक्त सिरिज सन् २०२६ डिसेम्बर ४ देखि विश्वभर प्रदर्शनमा आउनेछ ।
सन् २०२३ अगस्टमा पहिलो पटक घोषणा गरिएको यो दुई भागमा विभाजित रोमान्टिक गाथामा लोकप्रिय कलाकार फवाद खान र माहिरा खानसहित अन्य चर्चित कलाकारहरूको अभिनय रहनेछ ।
नेटफ्लिक्सले सिरिजको आधिकारिक पोस्टर समेत सार्वजनिक गरेको छ । प्लेटफर्मको आगामी कार्यक्रमहरूको सूचीमा सिरिज समावेश भएपनि विद्यमान सामग्रीसम्बन्धी प्रतिबन्धका कारण भारतमा यसको प्रदर्शन हुने वा नहुने अझै स्पष्ट भइसकेको छैन ।
सामाजिक सञ्जालमार्फत नयाँ पोस्टर सार्वजनिक गर्दै नेटफ्लिक्सले सम्बन्ध र प्रेमको अर्थमा केन्द्रित भावनात्मक कथाको झलक प्रस्तुत गरेको छ । पोस्टरसँगै सार्वजनिक गरिएको क्याप्सनमा लेखिएको छ, ‘तीन पुस्ता, छ प्रेमकथा र एउटा प्रश्न- के हाम्रो हृदयमा भएको प्रेम पर्याप्त छ? ‘जो बचे हैं संग समेट लो’- हाम्रो हृदयमा अटाएको सम्पूर्ण प्रेम । डिसेम्बर ४ देखि विशेष रूपमा नेटफ्लिक्समा ।’
यस सिरिजमार्फत फवाद खान र माहिरा खान ‘हमसफर’ तथा ‘द लेजेन्ड अफ मौला जट्ट’ जस्ता चर्चित कृतिपछि पुन: पर्दामा एकसाथ देखिँदै छन् । सिरिजमा सनम सईद पनि छिन् । उनी ‘जिन्दगी गुलजार है’ र ‘बरजाख’पछि फवाद खानसँग पुन: सहकार्य गर्दै छिन् । यसका साथै ‘रेसिडेन्ट इभिल’ र ‘वर्ल्ड अन फायर’मा अभिनय गरेका अहद रजा मिर पनि सिरिजमा देखिनेछन् ।
सिरिजमा हानिया आमिर, हमजा अली अब्बासी, अहमद अली अकबर, बिलाल अशरफ, माया अली, इकरा अजिज, खुशाल खान, नादिया जमील, ओमैर राणा र समिना अहमदलगायत कलाकारको पनि अभिनय रहनेछ ।
नेटफ्लिक्सको मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय टोलीको पहलमा निर्माण गरिएको यो सिरिज मोमिना दुरैद फिल्म्सले तयार पारेको हो । मोमिना दुरैदले सिरिजको शो रनर तथा निर्माताको जिम्मेवारी सम्हालेकी छन् । पाकिस्तान, इटाली र संयुक्त अधिराज्यमा छायाङ्कन गरिएको यस सिरिजको कथा तीन देशको परिवेशमा अघि बढ्छ ।
यो सिरिज फरहत इश्तियाकको सर्वाधिक बिक्री भएको उर्दू उपन्यासमा आधारित छ । उक्त उपन्यास सन् २०१३ मा पुस्तकका रूपमा प्रकाशित हुनुअघि सन् २००९ मा ‘ख्वातीन डाइजेस्ट’मा धारावाहिक रूपमा प्रकाशित भएको थियो ।
कथामा हार्वर्ड विश्वविद्यालयमा कानुन अध्ययन गरिरहेका सिकन्दर र कठिन विगत बोकेकी कलाकार लिजाको जीवनलाई प्रस्तुत गरिएको छ । एक दर्दनाक अनुभवपछि भावनात्मक रूपमा आफूलाई अरूबाट टाढा राखेका सिकन्दर र आफ्नै संघर्षसँग जुधिरहेकी लिजाको भेट इटालीमा हुन्छ । त्यसपछि उनीहरू प्रेम, वियोग, जोखिम र आत्मिक उपचारको भावनात्मक यात्रामा अघि बढ्छन् ।
फरहत इश्तियाकका यसअघि ‘हमसफर’, ‘बिन रोये’ र ‘याकीन का सफर’ जस्ता कृतिहरू टेलिभिजनका लागि रूपान्तरण भइसकेका छन् ।
आईसीटी समाचार