काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताले प्रकाशित गरिसकेको स्टोरीमा समेत आवश्यक परिमार्जन गर्न सक्ने नयाँ सुविधा ल्याएको छ । यससँगै स्टोरीमा भएका सामान्य गल्ती सच्याउन त्यसलाई हटाएर पुन: पोस्ट गर्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।
यसअघि स्टोरीमा लेखिएका शब्दमा त्रुटि भएमा, गलत संगीत छनोट भएमा वा अन्य सामग्री परिवर्तन गर्नुपर्ने अवस्थामा प्रयोगकर्ताले पुरानो स्टोरी डिलिट गरेर फेरि नयाँ स्टोरी पोस्ट गर्नुपर्ने हुन्थ्यो । तर, नयाँ सुविधाले प्रकाशित स्टोरीमै आवश्यक सुधार गर्ने विकल्प उपलब्ध गराएको छ ।
इन्स्टाग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एडम मोसेरीका अनुसार अब प्रयोगकर्ताले स्टोरी प्रकाशित भइसकेपछि पनि त्यसमा रहेका टेक्स्ट, संगीत, स्टिकर तथा तस्बिर सम्पादन गर्न सक्नेछन् ।
यो सुविधा प्रयोग गर्न सबैभन्दा पहिले प्रकाशित स्टोरी खोल्नुपर्छ । त्यसपछि स्क्रिनको तल्लो दायाँ भागमा रहेको ‘मोर’ विकल्पमा थिचेर ‘एडिट स्टोरी’ छनोट गर्नुपर्छ । त्यसपछि आफूलाई आवश्यक लागेको परिवर्तन गरी स्टोरी सुरक्षित गर्न सकिन्छ ।
यद्यपि, यो सुविधा प्रयोग गर्न निश्चित समयसीमा तोकिएको छ । स्टोरी प्रकाशित भएको १५ मिनेटभित्र मात्रै त्यसलाई सम्पादन गर्न सकिने छ । उक्त समयसीमा सकिएपछि भने स्टोरीमा थप परिवर्तन गर्न पाइने छैन । नयाँ सुविधाले विशेष गरी स्टोरीमा सानातिना गल्ती हुने प्रयोगकर्तालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार