काठमाडौं । देशभर साइबर जोखिम बढ्दै गएको संकेत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले र्यान्समवेयर आक्रमण तीव्र रूपमा फैलिएको चेतावनी दिएको छ । केन्द्रले सार्वजनिक गरेको नयाँ सुरक्षा सचेतनामार्फत सर्वसाधारणदेखि संस्थागत प्रयोगकर्तासम्म सबैलाई डिजिटल सतर्कता अपनाउन आग्रह गरेको छ ।
केन्द्रका अनुसार र्यान्समवेयर यस्तो प्रकारको हानिकारक सफ्टवेयर हो जसले प्रयोगकर्ताको उपकरणमा रहेका फाइल र डाटालाई ‘लक’ गरी प्रयोग गर्न नदिने बनाउँछ ।
पछिल्ला घटनाहरूलाई आधार मान्दा यस्ता आक्रमणले व्यक्तिगत तथा संस्थागत स्तरमा गम्भीर असर पार्न थालेको देखिएको छ । डाटा हराउने, सेवा प्रणाली अवरुद्ध हुने, गोपनीय सूचना बाहिरिने र आर्थिक क्षति हुने जोखिम उल्लेखनीय रूपमा बढेको केन्द्रको भनाइ छ ।
र्यान्समवेयर प्राय: शंकास्पद इमेलका फाइल खोल्दा, नक्कली वेबसाइट वा लिंकमा क्लिक गर्दा, असुरक्षित स्रोतबाट सफ्टवेयर डाउनलोड गर्दा तथा सिस्टम अपडेट नगर्दा फैलिने गरेको पाइएको छ । यसका साथै पाइरेटेड सफ्टवेयर प्रयोग, असुरक्षित नेटवर्क र यूएसबी उपकरणको प्रयोगले पनि जोखिम बढाउँछ ।
साइबर सुरक्षालाई मजबुत बनाउन केन्द्रले नियमित रूपमा डाटा ब्याकअप राख्ने, आधिकारिक स्रोतबाट मात्रै सफ्टवेयर प्रयोग गर्ने, सिस्टम तथा एप्लिकेशन अपडेट राख्ने र अपरिचित लिंक वा इमेल नखोल्न सुझाव दिएको छ । बलियो पासवर्ड र विश्वसनीय सुरक्षा प्रणालीको प्रयोगलाई पनि उत्तिकै महत्वपूर्ण मानिएको छ ।
यदि आक्रमण भइहालेमा प्रभावित उपकरणलाई तुरुन्तै नेटवर्कबाट अलग गर्न, सबै पासवर्ड परिवर्तन गर्न र फिरौती नतिर्न केन्द्रले आग्रह गरेको छ । साथै उपलब्ध ब्याकअप प्रयोग गरी प्रणाली पुन: स्थापना गर्न र घटना बारे नेपाल प्रहरी साइबर ब्युरो तथा सम्बन्धित निकायमा जानकारी गराउनु पर्छ ।
साथै, घटनाको विस्तृत जानकारी नेपाल प्रहरीको साइबर ब्युरो तथा राष्ट्रिय साइबर सुरक्षा केन्द्रमा उपलब्ध गराउन पनि आग्रह गरिएको छ । थप जानकारी वा सहयोग आवश्यक परेमा केन्द्रको इमेल [email protected] वा टेलिफोन नम्बर ०१-४२१११३० मा सम्पर्क गर्न सकिने केन्द्रले जनाएको छ ।
आईसीटी समाचार