काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफू आपराधिक साइबर आक्रमणको सिकार भएको जनाएको छ । आक्रमणका कारण संस्थासँग रहेका केही व्यक्तिगत तथा व्यावसायिक विवरणमा अनधिकृत पहुँच पुगेको फिफाले पुष्टि गरेको छ ।
यद्यपि, सञ्चारमाध्यमका रिपोर्टअनुसार बन्द भइसकेको ‘फिफा फरवार्ड इन्टरप्राइज’ परियोजनासँग सम्बन्धित कुनै पनि फाइलमा भने पहुँच पुगेको थिएन । फिफाका प्रवक्ताले अल जजिरासँग भनेका छन्, “फिफा आपराधिक साइबर आक्रमणको सिकार भएको छ, जसका कारण सीमित मात्रामा व्यक्तिगत तथा व्यावसायिक जानकारीमा अनधिकृत पहुँच पुगेको छ ।”
फिफाले विशेषगरी व्यक्तिगत विवरण गैरकानुनी रूपमा प्राप्त गर्ने र सार्वजनिक गर्ने कार्यको कडा निन्दा गरेको छ । उसले यस्ता गतिविधिलाई गोपनीयताको गम्भीर र अस्वीकार्य उल्लङ्घन भनेको छ । फिफाले घटनाबारे अनुसन्धान गर्न कानुन कार्यान्वयन गर्ने निकायसहित सम्बन्धित अधिकारीहरूसँग नजिक रहेर काम गरिरहेको जनाएको छ ।
यद्यपि, साइबर आक्रमणबाट कति व्यक्ति वा संस्था प्रभावित भए, घटना कहिले भएको थियो र व्यावसायिक जानकारीअन्तर्गत के–कस्ता विवरण समेटिएका थिए भन्नेबारे फिफाले खुलाएको छैन । चोरी भएका भनिएका विवरण अनलाइनमा सार्वजनिक भए–नभएको र भए कहाँ सार्वजनिक गरियो भन्ने विषयमा पनि उसले कुनै जानकारी दिएको छैन ।
गत साता ‘ह्यान्डसम ब्वाई ह्याकिङ क्लब’ नामक समूहले सामाजिक सञ्जाल एक्समा फिफाका फाइल भएको दाबी गर्दै केही स्क्रिनसट सार्वजनिक गरेको थियो । त्यसको तीन दिनपछि १२ गिगाबाइटभन्दा बढी आन्तरिक कागजात चुहिएको दाबी गरिएको पोस्टको जवाफ दिँदै उक्त समूहले साइबर आक्रमणको जिम्मेवारी लिएको देखिएको थियो ।
यस घटनाबारे जानकारी राख्ने एक व्यक्तिले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार फिफासँग रहेको कुल तथ्याङ्कको ०.१ प्रतिशतभन्दा कम हिस्सा मात्र प्रभावित भएको छ ।
फिफाका एक स्रोतले ‘द एथलेटिक’ लाई बताएअनुसार आक्रमणकारीले कुनै प्राविधिक वा प्रणालीगत त्रुटिको फाइदा उठाएर नभई कर्मचारीको भेष धारण गरी नक्कली परिचय प्रयोग गरेर प्रणालीमा पहुँच प्राप्त गरेका थिए ।
यसैबीच, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले गत जुलाईमा व्यापक विरोधपछि विश्वकपसहितका प्रतियोगिता सञ्चालन गर्ने नयाँ एकाइको २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना रद्द गरिएको बताएका थिए । उक्त योजनामार्फत ४.२ अर्ब डलरसम्म रकम जुटाउने प्रस्ताव गरिएको थियो ।
आईसीटी समाचार