काठमाडौं । भरतपुर अस्पतालले सेवाग्राहीको समय बचत गर्दै स्वास्थ्य सेवालाई थप सहज, छिटोछरितो र प्रविधिमैत्री बनाउन भेन्डिङ मेसिन सञ्चालनमा ल्याएको छ ।
अस्पतालले सार्वजनिक सूचना जारी गर्दै बहिरङ्ग (ओपीडी) विभागमा आउने सेवाग्राहीका लागि भेन्डिङ मेसिनमार्फत विभिन्न सेवा उपलब्ध गराउन सुरु गरिएको जनाएको छ ।
अस्पतालका अनुसार अब सेवाग्राहीले भेन्डिङ मेसिनबाटै जनरल तथा स्वास्थ्य बीमाअन्तर्गतको ओपीडी टिकट प्रिन्ट गर्न सक्नेछन् । साथै प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट पनि मेसिनबाटै प्रिन्ट गर्न मिल्ने व्यवस्था गरिएको छ ।
यस्तै, स्वास्थ्य बीमाको बाँकी (ब्यालेन्स) रकम समेत मेसिनमार्फत हेर्न सकिने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार नयाँ प्रणाली सञ्चालनमा आएपछि लामो समय लाइनमा बस्नुपर्ने झन्झट कम हुने, सेवाग्राहीको समय बचत हुने र स्वास्थ्य सेवा थप प्रभावकारी ढंगले प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अस्पतालले सबै सेवाग्राहीलाई उपलब्ध सुविधाको अधिकतम उपयोग गर्न अनुरोध गर्दै स्वास्थ्य सेवालाई क्रमश: डिजिटल र सेवामैत्री बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

आईसीटी समाचार