काठमाडौं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै बढ्दो जनशक्ति आवश्यकतालाई लक्षित गर्दै फाउण्डेशनले यी कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ ।
एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धन, नेपाल सरकारको शिक्षा मन्त्रालयको स्वीकृति तथा त्रिभुवन विश्वविद्यालयको समकक्षतासहित कार्यक्रम सञ्चालनमा आएको फाउण्डेशनका अध्यक्ष इन्जिनियर पंकज जालानले जानकारी दिए । कार्यक्रम सञ्चालनका लागि फाउण्डेशनले डीएलए कन्सल्टिङसँग सहकार्य गरेको छ ।
कार्यक्रम उद्घाटन समारोहमा अध्यक्ष जालानले एआई अब भविष्यको प्रविधि मात्र नभई बैंकिङ, व्यापार, व्यवस्थापन, डाटा विश्लेषण, प्रतिवेदन तयारीदेखि दैनिक कार्यालय सञ्चालनसम्म अपरिहार्य बन्दै गएको बताए ।
उनका अनुसार केही वर्षअघि घण्टौं लाग्ने काम अहिले एआईले केही मिनेटमै सम्पन्न गर्न सक्ने अवस्थामा पुगेको छ । त्यसैले नेपालमा पनि एआईलाई केवल प्रविधि प्रयोग गर्ने सीपमा सीमित नराखी शिक्षा, व्यवसाय र व्यवस्थापनसँग जोडेर अध्ययन गराउन आवश्यक भएको उनले उल्लेख गरे ।
उनले नयाँ कार्यक्रमको उद्देश्य विद्यार्थीलाई एआई सफ्टवेयर विकास गर्ने प्राविधिक दक्षतामात्र प्रदान गर्नु नभई बजारमा उपलब्ध एआई उपकरण र समाधानलाई व्यवसाय तथा वास्तविक जीवनमा प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाउनु रहेको बताए ।
कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक प्रकाश केजरीवालले सूचना प्रविधिको विकासक्रम, एआईको वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

फाउण्डेशनले निकट भविष्यमा अत्याधुनिक एआई सर्भर ल्याब स्थापना गर्ने तयारी समेत गरेको जनाएको छ । विदेशबाट एआई सर्भर भित्र्याएर विद्यार्थीलाई आफ्नै पूर्वाधारमा एआईसम्बन्धी प्रयोग, परीक्षण र अनुसन्धान गर्ने वातावरण उपलब्ध गराइने योजना रहेको बताइएको छ । यसले विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै व्यावहारिक अभ्यास गर्ने अवसर प्रदान गर्ने विश्वास फाउण्डेशनको छ ।
फाउण्डेशनका अनुसार विद्यार्थीले आफ्नै सर्भरमार्फत एआई परियोजनामा प्रत्यक्ष काम गर्न पाउनेछन् । साथै, ११ वटा अन्तर्राष्ट्रिय अनलाइन ल्याब, अनुसन्धानपत्र, जर्नल तथा शैक्षिक स्रोतमा समेत पहुँच उपलब्ध गराइनेछ ।
कार्यक्रममा डीएलए कन्सल्टिङका संस्थापक अध्यक्ष सुमन न्यौपानेले एआई सूचना प्रविधिको एउटा शाखामात्र नभई संस्थागत रणनीति र निर्णय प्रक्रियाको महत्वपूर्ण आधार बनिसकेको बताए । अन्तर्राष्ट्रियस्तरको एआई पाठ्यक्रम नेपालमा ल्याएर नयाँ शैक्षिक कार्यक्रम थप्नुका साथै भविष्यका व्यावसायिक नेतृत्व तयार गर्ने आधार निर्माण गरिएको उनले बताए ।
नेपालको सूचना प्रविधि क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकसित हुँदै गइरहेको उल्लेख गर्दै न्यौपानेले एआईमा दक्ष जनशक्ति उत्पादनले देशको डिजिटल रूपान्तरण र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
आईसीटी समाचार