काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन गर्नुअघि विद्यार्थीलाई अनिवार्य रूपमा मनोसामाजिक परामर्श दिन सरकारले निर्देशन दिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्दै बाढीका कारण विद्यार्थीमा परेको मानसिक तथा मनोवैज्ञानिक असरको पहिचान र सम्बोधन गरेपछि मात्रै विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।
शिक्षा विभागका निर्देशक नीलकण्ठ ढकालले जारी गरेको पत्रमा विपद्का कारण बालबालिकामा भय, त्रास, तनावलगायतका मनोसामाजिक समस्या उत्पन्न हुन सक्ने उल्लेख छ । यस्तो अवस्थामा विद्यार्थीको मानसिक अवस्था बुझेर आवश्यक सहयोग उपलब्ध गराउनु अपरिहार्य रहेको विभागले जनाएको छ ।
विभागका अनुसार प्रभावित विद्यार्थीलाई मानसिक रूपमा सामान्य अवस्थामा फर्काउन सहयोग नगरी तत्कालै नियमित पठनपाठनमा फर्काउँदा उनीहरूको सिकाइ प्रक्रिया तथा मानसिक स्वास्थ्यमा थप नकारात्मक असर पर्न सक्छ ।
त्यसैले सम्बन्धित विद्यालय र स्थानीय तहलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गर्न निर्देशन दिइएको छ । पहिचानका आधारमा आवश्यक परामर्श तथा अन्य सहयोग उपलब्ध गराउन समेत विभागले आग्रह गरेको छ ।
विद्यार्थीहरू परामर्शपछि नियमित कक्षामा सहभागी हुन मानसिक रूपमा तयार भएको सुनिश्चित गरेपछि मात्रै सुरक्षित, सहज र बालमैत्री वातावरणमा पठनपाठन सञ्चालन गर्न विभागले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
आईसीटी समाचार