कीवर्डहरू -

अमेरिकी विश्वविद्यालयका नेपाली प्राध्यापक चेतराज पाण्डे नासाको परियोजनामा सहभागी

अमेरिकी विश्वविद्यालयका नेपाली प्राध्यापक चेतराज पाण्डे नासाको परियोजनामा सहभागी

काठमाडौं । अमेरिकाको टेक्सास क्रिस्चियन युनिभर्सिटी (टीसीयू) मा कम्प्युटर विज्ञानका सहायक प्राध्यापकका रूपमा कार्यरत डा. चेतराज पाण्डे अमेरिकी अन्तरिक्ष निकाय नासा (NASA) को ३६ लाख अमेरिकी डलरको अनुसन्धान तथा जनचेतनामूलक परियोजनामा सहभागी भएका छन् ।

विश्वविद्यालयले सार्वजनिक गरेको जानकारीअनुसार, डा. पाण्डे उक्त परियोजनामा को–इन्भेस्टिगेटर (CO-I) का रूपमा सहभागी भएका हुन् । ३६ लाख अमेरिकी डलर बजेटको यो परियोजनाको नेतृत्व टीसीयूमा मेटियोरिटिक्स तथा ग्रह विज्ञान विषयकी ‘अस्कर एन्ड हुआनिटा मोनिग एन्डाउड चेयर’ डा. रियानन मेनेले गर्नेछिन् ।

परियोजनाको मुख्य उद्देश्य पश्चिम टेक्सासको अँध्यारो र खुला आकाश तथा त्यहाँको भूगर्भीय विशेषताको उपयोग गर्दै सर्वसाधारणलाई उल्का, उल्कापिण्ड, क्षुद्रग्रह र ग्रह सुरक्षा (प्लानेटरी डिफेन्स) बारे जानकारी दिनु हो ।

सन् २०२९ मा ‘अपोफिस’ नामक क्षुद्रग्रह पृथ्वीको नजिकबाट गुज्रने घटनालाई मध्यनजर गर्दै परियोजनाअन्तर्गत टेक्सासमा उल्का अवलोकन सञ्जाल स्थापना गरिनेछ । साथै, शैक्षिक सामाग्री र प्लानेटेरियममा प्रदर्शन गरिने विशेष कार्यक्रम समेत विकास गरिने विश्वविद्यालयले जनाएको छ ।

परियोजनामा डा. पाण्डेको मुख्य जिम्मेवारी डिजिटल पूर्वाधारको डिजाइन, स्थापना र सञ्चालन तथा मर्मतसम्भार गर्नु हुनेछ । उनले उल्का अवलोकन सञ्जालबाट प्राप्त हुने तथ्याङ्क र सर्वसाधारणको सहभागिताबीच समन्वय गर्ने काममा पनि योगदान पुर्‍याउनेछन् ।

यस परियोजनाले अन्तरिक्षसम्बन्धी वैज्ञानिक जानकारीलाई सर्वसाधारणसम्म पुर्‍याउनुका साथै नागरिकको सहभागितामा आकाशीय घटनाको अवलोकन र अभिलेखीकरणलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

डा. पाण्डेको शैक्षिक तथा व्यावसायिक विवरण उनको व्यक्तिगत वेबसाइट https://chetrajpandey.github.io मा उपलब्ध छ ।