कीवर्डहरू -

त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न मन्त्री पोखरेलको निर्देशन

त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न मन्त्री पोखरेलको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयका सबै संकायको नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय सभाको ६७ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै उनले नतिजा प्रकाशनमा भइरहेको ढिलाइ अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए  ।

विश्वविद्यालयमा विद्यार्थीको संख्या धेरै भएकाले नतिजा प्रकाशनमा ढिलाइ भइरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले अब अधिकार तल्लो तहसम्म हस्तान्तरण गरी विकेन्द्रीकरणको सिद्धान्तलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताए ।

‘त्रिभुवन विश्वविद्यालयमा समयमा परीक्षा नहुने र समयमा नतिजा नआउने गुनासो छ । हरेक संकायको नतिजा एक महिनाभित्र ल्याउनुपर्ने प्रधानमन्त्रीको निर्देशन छ,’ उनले भने, ‘विद्यार्थी धेरै भएकाले नतिजा प्रकाशनमा ढिलाइ भइरहेको छ । अब विकेन्द्रीकरण लागू गर्नुपर्छ ।’

उनले विश्वविद्यालयको समग्र प्रणालीमा सुधार गर्दै विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययनका लागि आकर्षित गर्ने ठोस र प्रभावकारी योजना अघि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरे ।

समयअनुकूल त्रिविलाई प्रविधिमैत्री, अनुसन्धानमुखी र गुणस्तरीय विश्वविद्यालयका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । उच्च शिक्षा, जनशक्ति विकास तथा राष्ट्र निर्माणमा त्रिभुवन विश्वविद्यालयले पुर्‍याएको ऐतिहासिक योगदानलाई स्मरण गर्दै उनले बदलिँदो समयअनुसार विश्वविद्यालयले आफूलाई रूपान्तरण गर्नुपर्ने बताए ।

कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र विश्वव्यापीकरणबाट सिर्जित चुनौतीलाई अवसरका रूपमा उपयोग गर्दै विश्वविद्यालयले आफ्नो गौरवशाली इतिहासलाई जोगाउँदै नयाँ प्रविधि र ज्ञानमा आधारित शिक्षातर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान र सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । विद्यार्थीलाई केवल प्रमाणपत्र हासिल गर्ने उद्देश्यमा सीमित नराखी ज्ञान, सीप र सृजनशीलतासहित विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरे ।

अनुसन्धानमा लगानी बढाउने, विश्वविद्यालय र उद्योगबीचको सहकार्य विस्तार गर्ने तथा शैक्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए ।

तोकिएको समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्दै विश्वविद्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

विश्वविद्यालय सुधारको केन्द्रमा विद्यार्थीलाई राखिनुपर्ने बताउँदै उनले विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन र समाजका लागि आवश्यक ज्ञान, सीप र क्षमता विकास हुने गरी तयार पार्नुपर्ने धारणा राखे ।

डिजिटल रूपान्तरण तथा प्रविधिको जिम्मेवार र नैतिक प्रयोगका लागि आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले फरक विचार र दृष्टिकोण भएपनि गुणस्तरीय शिक्षा र त्रिभुवन विश्वविद्यालयको संस्थागत सुदृढीकरणका लागि सबै पक्षबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

उनले त्रिभुवन विश्वविद्यालयलाई थप गुणस्तरीय, समावेशी, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी विश्वविद्यालयका रूपमा विकास गर्न सामूहिक प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरे ।